नेपालगन्ज ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले कात्तिक २० गतेदेखि मात्रै धान खरिद सुरु गर्ने भएको छ ।
कात्तिक २० गतेदेखि वडा कार्यालयले दिएको सिफारिसका आधारमा किसानबाट धान खरिद गरिने कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए । उनले कतिपय पालिकाहरूसँग स्थानीयस्तरमै धान खरिद गर्ने व्यवस्थाका विषयमा समेत छलफल भइरहेको दाबी गरे ।
राप्ती सोनारी र नरैनापुरका लागि कुनै स्थानमा संकलन केन्द्र तोकेर गोदाम तथा सुरक्षाको व्यवस्था स्थानीय तहले गर्ने अवस्था भएमा स्थानीय तहमै धान खरिद गरिने उनले बताए ।
यसवर्ष नेपालगन्ज शाखाले ४० हजार क्विन्टल धान खरिदका लागि कोटा पाएको छ । गतवर्ष ५१ हजार क्विन्टलको कोटा तोकिएकोमा ढिलो खरिद सुरु हुनु र झन्झटिलो प्रक्रियाका कारण ८ हजार क्विन्टल मात्रै धान खरिद भएको थियो ।
यसवर्षका लागि सरकारले मोटा धानको ३३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्विन्टल समर्थन मूल्य तोकेको छ । तर, धान खरिदमा ढिलाइ हुँदा कतिपय किसानहरू व्यापारीलाई सरकारले तोकेको समर्थन मूल्यमा चार सय रुपैयाँसम्म घाटा खाएर धान बेचिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्