त्रिभुवन स्कुलमा आगो लगाइदिने बागेश्वरी बहुमुखीका स्ववियु सभापति बुढाको धम्की



कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा आगो लगाइदिने धम्की दिने बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा

कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा आगो लगाइदिने धम्की दिने बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा

कोहलपुर ।

बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढाले कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा आगो लगाइदिने धम्की दिएका छन् । सहारा टिभी एचडी नामक फेसबुक पेजमार्फत सार्वजनिक एक भिडियोमा उनले विद्यालयका प्रधानाध्यापक देवका बस्नेत थापाका अगाडि विद्यालयमा आगो लगाइदिने धम्की दिएका हुन् ।

विद्यालयका एक शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रालाई म्यासेन्जरमा दुव्र्यवहार गरेको विषयलाई लिएर ती शिक्षकलाई तत्काल निलम्बन गर्न माग गर्दै अन्यथा विद्यालयमा आगो लगाइदिने धम्की दिएको सो भिडियोमा सुन्न सकिन्छ ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले प्रधानाध्यापक थापाकै कार्यकक्षमा पुुगेर छात्रामाथि म्यासेन्जरमार्फत दुव्र्यवहार गरेका भनिएका शिक्षकलाई तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने माग गरेका थिए । सोही क्रममा स्ववियु सभापति बुढाले सो भनाइ सार्वजनिक गरेका हुन् ।

विद्यार्थीहरूको समूहले प्रधानाध्यापक थापाकै कार्यकक्षमा पुगेर उनलाई यस विषयमा विद्यालय मौन बसे आफूहरूले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका थिए । उनीहरूले सामाजिक मर्यादाविपरीत कार्य गर्ने शिक्षकलाई कुनै पनि हालतमा छुट दिन नहुने बताएका थिए ।

सोही फेसबुक पेजले सार्वजनिक गरेको अर्को एक भिडियोमा अर्का युवा आशिष ठकुरीले विद्यार्थीलाई गलत म्यासेज गर्ने शिक्षकको आँखा फुटालिदिने अभिव्यक्ति दिएका छन् ।

शिक्षक र छात्राबीच भएको भनिएको कुराकानीको स्क्रिन सर्ट देखाउँदै विद्यार्थीहरूले प्रधानाध्यापक थापालाई शिक्षकमाथि कारबाहीका लागि ¥याख¥याक पारेका थिए । ती शिक्षकलाई तत्काल निलम्बन गरेर छानबिन गरिनुपर्ने विद्यार्थी समूहले माग राखेको थियोे ।

तर प्रधानाध्यापक थापाले यो विषयमा तत्काल आफूले मात्र कुनै निर्णय लिन नसक्ने जनाउँदै विद्यालय व्यवस्थापन समिति, विद्यालय अभिभावक संघलगायतका सरोकारवाला निकायसँगको छलफलपछि मात्र निष्कर्षमा पुगिने बताएकी थिइन् । तर विद्यार्थीहरूले प्रधानाध्यापकका हैसियतले तत्काल ती शिक्षकलाई निलम्बन गर्नुपर्ने माग दोहो¥याएका थिए ।

सोही विषयलाई लिएर शुक्रबार अनेरास्ववियु र अखिल (क्रान्तिकारी) विद्यार्थीहरूको समूह कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमाललसमक्ष पुगेको थियो । ती शिक्षकलाई कारबाही गर्न दबाब दिँदै उनीहरूले हमाललाई भेटेका थिए । तर हमालले कानुनी आधारबिना आफूले यस विषयमा केही गर्न र बोल्न नमिल्ने बताएका थिए ।

सो घटनापछि हमालमाथि अभद्र व्यवहार भएको भन्दै कोहलपुर नगरपालिकाका कर्मचारीहरूले विज्ञप्ति निकालेका थिए । नगर शिक्षा शाखा प्रमुख हमालमाथि अमानवीय व्यवहार भएको विरोधमा कर्मचारीहरूले आइतबार नगरपालिकाको अत्यावश्यकबाहेकको काम स्थगन गरेका थिए ।

कानुनी प्रक्रिया अबलम्बन नगरी सामाजिक सञ्जालमा आएको खबरकै भरमा कसैमाथि कारबाही गर्नुपर्ने धम्की दिँदै नगर शिक्षा शाखा प्रमुखमाथि दुव्र्यवहार तथा अपमानजनक व्यवहार गरिनु उपयुक्त नभएको नगरपालिकाका कर्मचारीहरूको भनाइ छ ।

तर प्रहरीले भने यस विषयलाई लिएर प्रहरीमा कुनै उजुरी नपरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले बाहिरबाहिरै आफूले पनि यस विषयमा सुने पनि पीडितका नाममा इप्रकामा हालसम्म कुनै उजुरी नपरेको स्पष्ट पारे ।

सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक भएपछि मानिसहरूले त्यसप्रति अनेकौँ टिप्पणीहरू गरेका छन् । यो घटनाले जनमानसमा विभिन्न किसिमका आशंका उब्जिाइदिएको छ ।

सो भिडियोमा कमेन्ट गर्दै रमा शर्माले ती विद्यार्थीले अहिलेसम्म किन उजुरी दर्ता गरेकी छैनन त ? भनी प्रश्न गर्दै न्यान अन्याय हेर्ने पुलिस प्रशासन हुँदाहुँदै कानुनभन्दा माथि उठेर अभिव्यक्ति दिनु ठीक नहुने सुझाव दिएकी छन् ।

त्यस्तै, रमेश रोकायले पीडित पक्षको उजुरी दर्ता भएको छ कि छैन ? भन्ने प्रश्न गर्दै प्रमाण लिएर न्यायालयमा जान सुझाएका छन् । एक जनाले गल्ती गरेको छ, सम्बन्धित व्यक्तिलाई खोजी गर्न लाग्नुपर्नेमा यसरी विद्यालयमा गएर धम्काउनु, आगो लगाउँछु भन्नु गलत भएको उनको विचार छ । त्यस्तै, प्रकाश राजीले पनि स्कुलमा आगो लगाउँछु भन्नु कहाँसम्मको जायज हो ? भन्दै प्रश्न गरेका छन् ।
स्ववियु सभापति देवेन्द्र बुढाले भने मिसन टुडेसँग कुरा गर्दै आफूले आगो लगाउँछु भन्नुको अर्थ विद्यालयमा नभएर

आपराधिक तत्वलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध लक्षित रहेको बताए । ‘म अहिले पनि आफ्ना भनाइप्रति अडिग छु,’ उनले भने, ‘मैले स्कुलमा नभएर आपराधिक मानसिकता र त्यस्तालाई संरक्षण गर्नेहरूलाई आगो लगाउँछु भनेको हुँ ।’ उनले उजुरी दर्ता गर्ने सवालमा पीडित व्यक्ति चाडबाड मान्ने क्रममा बाहिर भएकाले उनीहरू आएपछि कानुनी प्रक्रियामा अगाडि बढ्ने जनाए ।

बाहिर हल्लाखल्ला प्रहरीमा छैन कुनै उजुरी 

यस विषयलाई लिएर पीडितका तर्फबाट प्रहरीमा हालसम्म कुनै पनि उजुरी दर्ता नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले यस्तो कुनै पनि उजुरी आफूकहाँ नआइपुगेको स्पष्ट पारे ।

‘मैले पनि बाहिर बाहिरै यो कुरा थाहा पाएँ,’ डिएसपी भण्डारीले मिसन टुडेसँग भने, ‘पीडित कहाँ छ ? छ कि छैन ? पत्तो छैन, पीडितलाई न्याय दिलाउने नाममा बाहिर हल्लाखल्ला भइरहेको सुनिन्छ । कसलाई न्याय दिनुपर्ने माग हो खै मैले त केही बुझिनँ ।’ यसरी पीडितका नाममा अनावश्यक हल्लाखल्ला गर्दा भोलि पीडित भए र उसले आत्महत्या गर्ने अवस्था आएमा नराम्रो परिणाम आउन सक्नेतर्फ पनि उनले सचेत गराए ।

‘यसरी हल्लाखल्ला मच्चाउँदा साँच्चै पीडितले आत्महत्या गर्ने अवस्था आयो भने के हुन्छ ?’ उनले भने, ‘भोलि आत्महत्या दुरुत्साहनमा हल्लाखल्ला मच्चाउनेहरू पक्राउ पर्ने अवस्था आउन सक्छ ।’ उनले कसको के स्वार्थले यस्तो भइरहेको हो भन्ने कुरा बुझ्न नसकिएको बताउँदै यस्ता निराधार हल्लाका पछाडि लाग्न नहुने स्पष्ट पारे ।

कोहलपुर नगरपालिकामा कामकाज ठप्प

आफ्ना कर्मचारीमाथि दुव्र्यवहार भएको भन्दै कोहलपुर नगरपालिकाले आइतबार अत्यावश्यकबाहेकका सबै कामकाज स्थगन गर्ने निर्णय गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सेवा स्थगन गरिएको जनाएका हुन् ।

नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमालमाथि शुक्रबार भएको दुव्र्यवहारले कर्मचारीलाई असुरक्षा महसुस भएको जनाउँदै शान्तिपूर्ण रूपले सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि उनले माग गरेका छन् ।

कोहलपुर–१० स्थित त्रिमाविका शिक्षक र विद्यार्थीबीच सामाजिक सञ्जालमा भएको कुराकानीको विषयलाई लिएर शिक्षा शाखा प्रमुखमाथि गरिएको अभद्र व्यवहारले कर्मचारीमा त्रास पैदा भएको र काम गर्ने वातावरण नभएकाले सेवा स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

विधिसम्मत् रूपले हल गर्नुपर्ने विषयलाई कानुनविपरीत अभद्र व्यवहार गर्ने पक्षलाई कानुनी दायरामा ल्याउनसमेत विज्ञप्तिमा माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार