बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा शनिबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै उनले उक्त कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताए । उनले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ, हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्टाचार आफैँ न्यूनीकरण भएर जान्छ ।’
लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको उनले दाबी गरे । भ्रष्टाचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँचवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
‘सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ, तपाईं जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’, उनले भने, ‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ, प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चलाई कटौती गरेर अगाडि बढीरहेका छौँ ।’ उनले भ्रष्टाचार शून्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तहलगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्