प्रथम बाँसगढी कप खुला फुटबलको उपाधि बाँसगढी क्लबले उचाल्यो



बाँसगढी ।

बाँसगढी नगरपालिका–५ स्थित झरसैला खेलमैदानमा सञ्चालित प्रथम बाँसगढी कप खुला फुटबल प्रतियोगितामा बाँसगढीको समूहले उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा माछागढ फुटबल क्लबलाई पराजित गर्दै बाँसगढी फुटबल क्लबले उपाधि जितेको हो ।

माछागढ फुटबल क्लबलाई ४–३ गोलअन्तरले हराउँदै बाँसगढीले उपाधि उचालेको थियो । जितसँगै विजेता बाँसगढी फुटबल क्लबले ५० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यसैगरी उपविजेता माछागढ फुटबल क्लबले २५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

बाँसगढी क्लबका फागुराम थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् भने उत्कृष्ट गोलकिपरमा अनुप मगर चयन भएका छन् । माछागढका सुनील आलेमगर उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा माछागढ र पुलिस क्लब भिडेका थिए । सो खेलमा पुलिस क्लबलाई पराजित गर्दै माछागढ फुटबल क्लब फाइनल प्रवेश गरेको थियो । २–२ गोलको बराबरीमा खेल टुंगिएपछि पेनाल्टी सुटआउट गर्दै माछागढले ५–४ गोलअन्तरले पुलिस क्लबलाई हराएको थियो ।

त्यस्तै, बाँसगढी फुटबल क्लब र झरसैला फुटबल क्लबीच भएको दोस्रो सेमिफाइनल खेलमा पनि पनि १–१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो । पेनाल्टी प्रहारमा ४–२ को जित निकाल्दै आयोजक बाँसगढी फुटबल क्लब फाइनलमा प्रवेश गरेको थियो ।

गत बिहीबारदेखि बाँसगढी नगरपालिका–५ झरसैलास्थित खेलमैदानमा सो प्रतियोगिता सञ्चालन भएको थियो । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुुर खड्काले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।

बाँसगढी गाउँ बडघर संस्थाको आयोजना तथा बाँसगढीस्थित धौलागिरी सप्लायर्सको मुख्य प्रायोजनमा सो प्रतियोगिता सञ्चालन भएको थियो । युवाहरूलाई कुलतमा लाग्नबाट जोगाउन प्रतियोगिताको आयोजना गरिएको आयोजक बाँसगढी गाउँ बड्घर संस्थाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार