आर्थिक गतिविधिलाई बढावा दिन माग



नेपालगन्ज ।

नेपालगन्जका उद्योगी व्यवसायीले राज्यले आर्थिक गतिविधिलाई बढावा दिनका लागि काम गर्नुपर्ने बताएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरूले राज्यले सबै व्यवसायीलाई ठग र तस्करको रूपमा हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए ।

उद्योगी सञ्जय अग्रवालले उद्योगीहरूलाई अनेक नाममा राज्यका निकायले प्रताडना दिने काम गरिरहेकोले त्यसलाई बन्द गर्नुपर्ने बताए । उनले नेपालगन्जमा पछिल्लो समय आर्थिक गतिविधिहरू सुस्त हुँदै गएकाले उद्योगहरूलाई प्रोत्साहन गरेर आर्थिक गतिविधि बढाउनुपर्ने बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जिवी ओलीले अहिले व्यवसायीहरू पसल बन्द गरेर विदेश भासिने क्रम तीव्र रहेको बताए । उनले व्यपार व्यवसायको सिथिलताले निम्त्याइरहेको संकट राज्यका लागि भारी पर्नसक्ने भन्दै नीति निर्माताहरूलाई गम्भीर हुन आग्रह गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू किशोरसिंह राठौर, सूर्य ढकाल, दीपा शर्मा एवं प्रदेश सभा सदस्य, राजनीतिक दल एवं व्यवसायिक संगठनका प्रतिनिधिहरू सहभागी थिए ।

उनीहरूले सबै मिलेर राज्यलाई उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्ने नीति निर्माणका लागि दबाब दिनुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार