बिहानै आएको वर्षाले भिजायो धान



बाँके ।

शुक्रबार बिहानै आएको वर्षाले किसानहरूले काटेर भित्र्याउन बाँकी धानमा क्षति गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–६ का किसान केशव लाल खटिकले १५ बिघा जमिनमा लगाएको धानमध्ये शुक्रबार परेको पानीले उनको ४ बिघा खेतको धान भिजेको बताए । अहिले किसानहरू धान भित्र्याउने चटारोमा रहेको बेला एक्कासि पानी परेकाले धान जोगाउन नभ्याइएको खटिकको भनाइ छ ।

उनले भिजेको धानलाई दिनभरि लागेर फेरि सुकाइएको बताए । अधियामा लगाएको धान भिजेपछि आफूहरू चिन्तामा परेको खटिकले बताएका छन् । तीन वर्षअगाडि पनि पानीले धानलाई नोक्सान गर्दा उनले क्षति व्यहोरेका थिए ।

तर राहत नपाएको उनले बताए । मौसम विज्ञान विभागका अनुसार नेपालगन्जमा शुक्रबार बिहान २२.४ मिलिलिटर वर्षा भएको थियो । अर्का किसान अली अकबर बेहनाले पाक्ने बेला पानी पर्नु भनेको धान झर्नु र उत्पादन नष्ट हुनुको कारण बन्ने गरेको बताए ।

यद्यपि बाँकेमा अहिले कतिपय खेतमा लगाइएको धान पाक्न बाँकी नै रहेको छ । कृषि ज्ञान केन्द्र बाँके अझै धान कति कटान भयो भन्ने तथ्यांक नआइसकेको बताउँछ । केन्द्रका प्रमुख विनोद घिमिरेले अहिले धानको उत्पादनका विषयमा तथ्यांक संकलनको काम भइरहेकाले सोमबारसम्म धान कटानको विवरण आउन सक्ने बताउँछन् ।

उनले शुक्रबार परेको पानीले काटिसकेको धान र पाकिसकेको धान भिजाएमा चिस्यान बढ्ने र उम्रने तथा कुहिने समस्या निम्तन सक्ने बताए । तर, केन्द्रलाई क्षति भएकोबारे यकिन जानकारी यो समाचार तयार पार्दासम्म नआएको घिमिरेले जिकिर गरे ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार