उदयपुरको पुरानो सदरमुकाम र राजा उदयचन्द्र सेनको राज्य र गढीको घुमफिर अविस्मरणीय र रमाइलो बन्यो यो यात्रामा जीवन सङ्गिनी मीना, सालाभाइ राम र भतिजा सुजनको साथले घुमफिर थप रोमाञ्चक बन्यो ।
सतिश निरौला ।
चार वर्षपछिको उदयपुर यात्रा थियो यसपटक दसैँको । लामो समयपछि दसँै मनाउन २४ घन्टा लामो बस यात्रापछि हामी (श्रीमतीजी, कान्छो छोरा र म) ससुराली गाउँ नेपालगन्जदेखि नेपालटार (उदयपुर) पुगियो । यो यात्रा गर्दैगर्दा ७ महिना अगाडि कुतियाकभरदेखि कचनकबल साइकल यात्राका स्मृतिहरूसमेत ताजा हुँदै आए ।
नेपालटार मदन भण्डारी राजमार्गले जोडिएसँगै निकै फेरिएको छ । केही वर्षयता निकै व्यस्त सडक, गाडीहरूका चाप निकै बढेको छ । बिस्तारै गति लिँदै गरेको देखियो यो ठाउँले ।
उदयपुरगढी घुमफिर ः
नेपालटारबाट निकै नजिकै रहेको उदयपुरको प्रसिद्ध पर्यटकीय गन्तव्य हो उदयपुरगढी । सायद यही गढीकै कारण यो जिल्लाको नामकरणसमेत भएको हुन सक्छ । उदयपुरगढी गाइघाटभन्दा अगाडिको जिल्ला सदरमुकामसमेत रहेछ । ठ्याक्कै सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर सारिएजस्तै गरी यहाँको पनि जिल्ला सदरमुकाम सारिएको झैँ लाग्यो मलाई ।
राजा उदयचन्द्र सेनको राज्यमा बनेको ‘उदयपुरगढी’ निकै सुन्दर र घुम्नलायक बनाइएको रहेछ । १६ वर्षअघि त्यहाँ हिँडेर पुग्दा देखिएको गढीभन्दा निकै फरक थियो यसपटक त्यहाँ पुग्दा देखिएको दृश्य । घोडामाथि चढेका राजा उदयचन्द्र सेनको स्ट्याचु, ढुंगाको कटिङ गरी पुरानो शैली र ढाँचामै त्यहीँको ढुंगा प्रयोग गरी निर्माण गरिएको गढी, नजिकै रहेकोे निकै पुरानो र प्राचीन वटवृक्ष, पञ्चावती मन्दिर र त्यहाँबाट देखिने मनमोहक पहाडी दृश्यले निकै आनन्दित बनायो ।
गढीभित्र पिङ, सेल्फी प्वाइन्ट, बालउद्यान आदि संरचना निर्माण गरिएको रहेछ । हामीले पनि केही थान रिल्स (छोटा भिडियो) र केही फोटाहरू खिचियो । पुरा फन्को मारियो गढिको । पिङ खेलियो र झन्डै डेढ घन्टा बढी त्यहाँ रमाएर हामी फर्कियौँ । त्यहाँ घुमफिर गरिरहँदा अझै केही चिज थपिदिए हुन्थ्यो झैँ लाग्यो । सोभेनियरका पसलहरू, युद्ध झल्काउने सैन्य पोसाक र राजा–रानीका शाही पोसाकहरू जो त्यहाँ पुग्ने पर्यटकले लाएर घुमफिर गर्न र फोटो र भिडियो खिच्न पाउँछन् ।
नजिकै २–४ क्याफे र रेस्टुराँ । त्यहाँ टिकट लिनुपर्ने थिएन र कोही त्यसको रेखदेखमा खटिएका सुरक्षा गार्ड, अन्य कर्मचारीसमेत देखिएनन् । न्यूनतम भए पनि प्रवेश शुल्क लिएर त्यहाँ कर्मचारी र सरसफाइको प्रबन्ध मिलाउँदा राम्रो हुने थियो । समग्रमा उदयपुरको पुरानो सदरमुकाम र राजा उदयचन्द्र सेनको राज्य र गढीको घुमफिर अविस्मरणीय र रमाइलो बन्यो यो यात्रामा जीवन सङ्गिनी मीना, साला भाइ राम र भतिजा सुजनको साथले घुमफिर थप रोमाञ्चक बन्यो ।
अद्भुत हलेसी महादेव दर्शन ः
यसपटक दसैँमा उदयपुर पुग्दैगर्दा पूर्वका नघुमेका नयाँ ठाउँ घुम्न पाए हुन्थ्यो भन्ने रहर बोकेरै गएका थियौँ हामी । समय पनि जु¥यो । दसैँ घुमघामअन्तर्गत नेपालटारदेखि कटारी, बेतेनी, घुर्मी हुँदै सुनकोशी, दुधकोशी (जयरामघाट पुल) पार गर्दै ओखलढुंगासमेत छोएर खोटाङमा पर्ने प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको अद्भुत दर्शनको अवसर मिल्यो ।
झन्डै कर्णाली प्रदेशको रारा यात्राकै झल्को दिने बाटो ११० किलोमिटर स्कारपियोमा ७ घन्टा लगाएर हामी हलेसी पुग्यौँ । हलेसी, दिक्तेल, भोजपुर जाने मध्यपहाडी राजमार्ग पनि भेटियो । प्राकृतिक बडेमानको एउटा सानो गाउँ नै अट्ने गुफाभित्र हलेसी महादेवको दर्शन पाउँदा निकै आनन्द र बेग्लै अनुभूति भयो ।
हामीले त्यहाँ पूजाआजा र दीप प्रज्वलन गरियो । पूर्वको खोटाङमा रहेको हलेसी महादेवको मन्दिर निकै नै प्रख्यात र प्रसिद्ध मानिन्छ । यो सँगसँगै आकाश देखिने गुफासमेत भ्रमण गरियो । हलेसी महादेवमा विशेष गरी सन्तान प्राप्तिका लागि पूजापाठ गरिने र सन्तान प्राप्त भएपछि देखाउन लैजानेसमेत चलन र जनविश्वास रहेछ ।
सायद यो विश्वकै अनौठो र अद्भुत गुफा पनि हुन सक्छ जहाँ अचम्म र अनौठा आकृतिहरू निकै धेरै देख्न पाइन्छ । पूजापाठ र दर्शनसँगै त्यहाँको याद सँगाल्न केही थान फोटोहरू र केही रिल्स र टिकटकका लागि भिडियो खिच्न छुटाउने कुरा नै भएन हामीले पनि खोटाङ हलेसीका यादहरू मोबाइलमा कैद गर्दै साक्षात् देवदर्शन पछि फर्कियौँ महादेवको आशीर्वाद र यात्राको रोमाञ्चक यादहरू सँगालेर ।
प्रतिक्रिया दिनुहोस्