डुडुवामा– ६ का ४७ जनाको आँखामा मोतियाबिन्दुको समस्या



बाँके ।

बाँकेको डुडुवा गाउँपालिका–६ मा २२० जनाको निःशुल्क आँखा परीक्षण गर्दा ४७ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन र डुडुवा गाँउपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र १३० जना महिला गरेर कुल २२० जना बिरामीको आँखा जाँच गरिएको थियो ।

हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतियाबिन्दुको समस्या देखिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी दिए । उनका अनुसार यो सङ्ख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् । शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाबिन्दुको समस्या देखिएको छ ।

अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए । कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा नियमित रूपमा कात्तिक १५ सम्म कार्यक्रम सञ्चालन हुनेछ ।

आँखाको समस्या भएकालाई सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मूल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले बताए । उनले आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार