बुटवल ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा क्षमताभन्दा पाँच गुणा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ३१ जना यात्रुहरू घाइते भएका छन् । शनिबार दुर्घटना परेको बोलेरो जिपको क्षमता पाँचदेखि सात जनासम्मको रहेपनि ३४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
उनका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटना भएको थियो । घाइते यात्रुहरूका अनुसार जिप अरू समयमा बुलिङ्टार–मुण्डे–दलदले–कावासोती चल्ने गरेकोमा मुण्डेमा प्रहरी चेकिङ्ग हुने गरेकाले चेकिङ छल्न बुलिङटारबाट बालुवाडाँडा हुँदै कावासोती आउन लागेको थियो ।
गाडीबाट हाम फालेर ज्यान बचाएका बुलिङटार–१ का अर्जुन नेपालीले मुण्डेमा प्रहरी हुने भन्दै बालुवाडाँडाबाट कावासोती ल्याउन लागेको र घुम्तीमा तिब्र गति र यात्रुको सङ्ख्या बढी भएकाले दुर्घटना भएको बताए । आफू हाम फालेको केही सेकेण्डमै दुर्घटना भएको र आफूले नै गाडीमा च्यापिएका यात्रुको उद्धार गरेको उनले बताए ।
एसपी ढकालका अनुुसार दुर्घटनामा मृत्यु हुनेमा बुलिङटार गाउँपालिका –२ की २० वर्षीया पवित्रा मर्साङ्गी र सोही ठाउँका १८ वर्षीय पवन मर्साङ्गी रहेका छन् । उनीहरूको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
३१ जना घाइतेमध्ये १८ जनाको गम्भीर अवस्थामा चितवन मेडिकल कलेल भरतपुरमा, १४ जनाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एसपी ढकालले गाडीमा क्षमताभन्दा बढी यात्रु राख्नु दुर्घटनाको मुख्य कारण रहेको बताए । घाइते हुनेहरूमा बोलेरो चालक ३२ वर्षीय लीलबहादुर सुस्लिङ, ३२ वर्षीया तुलीमाया सारु, २४ वर्षीया सबिना सारु, १८ वर्षीया सृष्टि पाटा मगर, २६ वर्षीया मालती थानी परियार, २२ वर्षीया झमिसरा पुलामी मगर, २४ वर्षीय रवीन्द्र पुलामी मगर, ३ वर्षीय कृष्ण पुलामी मगर, ३ वर्षीय कृषन पुलामी मगर, २९ वर्षीया सजिता खत्री, ८ वर्षीय सेरेन खत्री, ३० वर्षीया कृति परियार, ७ वर्षीय सचिन परियार, ९ वर्षीय आशिष राना मगर, बोलेरो साहु ४३ वर्षीय भोजबहादुर पुलामी मगर र १२ वर्षीया आयुसा तिवारी रहेका छन् ।
त्यस्तै, ७ वर्षीया सफिरा परियार, १३ वर्षीया मालिका सुस्लिङ, १५ वर्षीया रोशनी चिदी, ३३ वर्षीय कर्णबहादुर सुस्लिङ मगर, दुई वर्षकी दिपिसा सारु, २४ वर्षीया न्युमाया सारु, ४ वर्षकी आयुषा पुलामी, २९ वर्षकी संगिता घर्ती, ८ वर्षीय सुरन घर्ती, २१ वर्षीय दिलु नेपाली, १४ वर्षका सुदिप पाटा, १८ वर्षका अर्जुन नेपाली, २५ वर्षका दिलबहादुर सारु र ३३ वर्षका कर्णबहादलुर सुस्लिङ घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्