प्रथम बाँसगढी कप खुला फुटबल : माछागढ र झरसैला क्लब विजयी



बाँसगढी ।

बर्दियाको बाँसगढीमा सञ्चालित प्रथम बाँसगढी कप खुला फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा माछागढ फुटबल क्लब माछागढ र युनाइटेड युथ फुटबल क्लब झरसैला विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेवादा फुटबल क्लब नेवादालाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै माछागढ फुटबल क्लब विजयी भएको थियो ।

त्यस्तै, दोस्रो खेल युनाइटेड युथ फुटबल क्लब झरसैला र एसवाईसी क्लब फुटाहाबीच भएको थियो । तीव्र प्रतिस्पर्धात्मक देखिएको सो खेलमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

हाफटाइमअघि एक गोल गरेको एसवाईबी फुटाहालाई हाफटाइमपछि जबाफी गोल फर्काउँदै युनाइटेडले खेललाई टाइब्रेकरमा लगेको थियो । पेनाल्टी सुटआउटमा एसवाईसीलाई पराजित गर्दै युनाइटेड युथ फुटबल क्लब विजयी भयो ।

गत बिहीबारदेखि बाँसगढी नगरपालिका–५ झरसैलास्थित खेल मैदानमा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । बिहीबार बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुुर खड्काले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।

बाँसगढी गाउँ बडघर संस्थाको आयोजना तथा बाँसगढीस्थित धौलागिरी सप्लायर्सको मुख्य प्रायोजनमा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । युवाहरूलाई कुलतमा लाग्नबाट जोगाउन यो प्रतियोगिताको आयोजना गरिएको आयोजक बाँसगढी गाउँ बड्घर संस्थाले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार रूपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछन् ।

सेमिफाइनपछि हरेक खेलको म्यान अफ द म्याच घोषणा गरिने र आकर्षक पुरस्कारसमेत प्रदान गरिने आयोजक संस्थाका सुनील थारूले जानकारी दिए । शुक्रबार दुई समूह थपिएपछि अब प्रतियोगितामा १९ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता १०–११ गतेसम्म चल्ने सुनीलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार