बाँके ।
सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान दिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् ।
व्यवसायी गुरुङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बताए ।
‘गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ,’ महासचिव पोखरेलले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने । एमालेलाई कमजोर बनाउन केही तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको उनले आरोप लगाए ।
एमालेमाथि विगतदेखि नै घेराबन्दी र आक्रमण भएको बताउँदै महासचिव पोखरेलले अहिले पनि एमालेमाथि आक्रमण सुरु भएको बताए । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय निर्माणको सन्दर्भमा एक जना व्यवसायीले गरेको सहयोगलाई आधार बनाएर पार्टीमाथि आक्रमण गर्ने प्रयास भएको छ,’ उनले भने ।
मीनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनले दाबी गरे । गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको महासचिव पोखरेलले बताए । पार्टी समाजको संस्था भएकाले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने उनले बताएका थिए । राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उनको भनाइ थियो ।
‘पार्टीप्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो,’ महासचिव पोखरेलले भने, ‘एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुन्छ । पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्नेछ ।’
मिसन २०८४ नेकपा (एमाले)को सर्वाधिक महत्वको विषय भएको उनले बताए । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यका लागि आउने निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनले कार्यकर्तालाई स्पष्ट पारेका थिए ।
महासचिव पोखरेलले अहिलेको सरकार उच्च समझदारीमा बनेको सरकार भएको चर्चा गर्दै एमाले र कांग्रेसको उच्च नेतृत्वमा समझदारी हुँदासम्म सरकारमा कुनै समस्या नआउने दाबी गरे । महासचिव पोखरेलले बिहीबार नै नेपालगन्जमा समेत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्