आज बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै



राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत आज र भोलि बाँकेसहित देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको छ । त्यसको लागि बाँकेसहित देशभर सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

समीर अली बेहना । नेपालगन्ज ।

राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत आज र भोलि बाँकेसहित देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको छ । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

यसपटक देशभरका २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाले जनाएको छ । बाँकेमा यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लामा ४६ हजार ४ सय ८० जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने लक्ष्य राखिएको छ । ४१ हजार १ सय ९६ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

त्यसका लागि जिल्लाका आठवटै पालिकामा जनशक्ति परिचालन हुने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले जानकारी दिए । उनका अनुसार ७ सय ८५ जना जनशक्ति परिचालन गरिनेछ । ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन उनले सबैलाई आग्रह गरे ।

राप्ती सोनारी गाउँपालिकामा ५ हजार २ सय ४८ जनालाई भिटामिन ए र ४ हजार ३ सय ५६ जनालाई जुकाको औषधि, नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जनालाई भिटामिन ए र १० हजार ६ सय २१ जनालाई जुकाको औषधि, कोहलपुर नगरपालिकामा ६ हजार ६ सय ९४ जनालाई भिटामिन ए र ५ हजार ९ सय २२ जनालाई जुकाको औषधि र बैजनाथ गाउँपालिकामा ४ हजार ८ सय ४९ जनालाई भिटामिन ए र ४ हजार २ सय ९८ जनालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ ।

त्यसैगरी, खजुरामा ५ हजार २ सय ४२ जनालाई भिटामिन ए र ४ हजार ६ सय ३५ जनालाई जुकाको औषधि, जानकीमा ४ हजार १३ जनालाई भिटामिन ए र ३ हजार ५ सय ४८ जनालाई जुकाको औषधि, डुडुवामा ४ हजार १ सय एक जनालाई भिटामिन ए र ३ हजार ६ सय ४७ जनालाई जुकाको औषधि तथा नरैनापुर गाउँपालिकामा ४ हजार ३ सय १८ जनालाई भिटामिन ए र ३ हजार ८ सय ६९ जनालाई जुकाको औषधि खुवाइनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २ गते शुक्रबार