१५ हजारमा युवती बेच्ने बिष्ट २५ वर्षपछि पक्राउ



बिहेको प्रलोभन देखाएर भारतमा लगेर १५ हजार रुपैयाँमा एक युवतीलाई बेच्ने भक्तबहादुर बिष्टलाई सुर्खेत प्रहरीले करिब २५ वर्षपछि उनकै गाउँबाट पक्राउ गरेको छ ।
सुर्खेत ।

करिब २५ वर्षअघि एक युवतीलाई बिहेको प्रलोभन देखाएर बेचबिखन गर्ने एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । युवतीलाई बिहेको आशा देखाएर भारतमा लगेर बिक्री गरेर फरार रहेका एक पुरुषलाई प्रहरीले २५ वर्षपछि अहिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको साविक गुटु गाविस वडा नम्बर ६ का ६१ वर्षीय भक्तबहादुर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका बिष्टले २५ वर्षअघि युवतीलाई भारतमा लगेर १५ हजार रुपैयाँमा बिक्री गरेका थिए । फरार प्रतिवादी खोजी गर्ने क्रममा उनीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले गाउँबाटै पक्राउ गरेको थियो ।

डिएसपी विश्वकर्माले दिएको जानकारी अनुसार पक्राउ परेका बिष्टले २०५७ असोज १ गतेका दिन बिहेको प्रलोभन देखाएर युवतीलाई भारतको गोरखपुर पु¥याएर बेचेका थिए ।

२०५७ मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको मुद्दा अनुसार उनले तत्कालीन समयमा २१ वर्षीया युवतीलाई गोरखपुरका एक भारतीय नागरिकलाई १५ हजार रुपैयाँमा बिक्री गरेको देखिन्छ । युवतीसमेत साविक गुटु गाविस वडा नम्बर ८ की थिइन् । बेचिएको स्थानबाट दुई महिनापछि युवती भाग्न सफल भएकी थिइन् ।

त्यसपछि युवतीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगेर जिउ मास्ने बेच्ने शीर्षकमा बिष्टविरुद्व मुद्दा हालेकी थिइन् । डिएसपी विश्वकर्माले दिएको जानकारी अनुसार तत्कालीन समयमा नै युवतीले न्यायाधिश समक्ष नै बिष्टले बिहे प्रलोभन देखाएर भारतमा पु¥याएर बेचेको बयान दिइसकेकी छन् ।

‘करिब २५ वर्ष अगाडि नै तत्कालीन कानुनअनुसार पक्राउ परेका बिष्टविरुद्व जिउ मास्ने बेच्ने शीर्षकमा मुद्दा दर्ता भएको थियो,’ उनले भने, ‘नयाँ मुलुकी ऐन आएपछि २०७६ सालमा उनीविरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भयो ।’

बिष्ट पक्राउ परेसँगै फेरि यो मुद्दाको फाइल २५ वर्षपछि खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्ता मुद्दाहरूको हकमा हदम्यादको कुनै सीमा नहुने भएकाले आरोपित पक्राउ परेसँगै अनुसन्धान फेरि अगाडि बढेको डिएसपी विश्वकर्माले बताए ।

‘आरोपित पक्राउ परेसँगै मुद्दाको फाइल खुलिसकेको छ,’ उनले भने, ‘अनुसन्धान अगाडि बढ्छ । पीडितको मृत्यु भइसकेको भए पनि पुरानै बयानलगायतका प्रमाणका आधारमा कानुन अनुसार कारबाही हुन्छ ।’ पीडितको ११ वर्षअघि नै मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार