दसैँ मनाउन गाउँबाट सहरतिर



दसैँ मनाउने तौरतरिकामा पनि समयसँगै परिवर्तन आएका छन् । कति परिवर्तन स्वाभाविक पनि छन् भने कति परिवर्तनहरू मौलिकतालाई बिर्साउने र समाजलाई लाभ नदिने खालका पनि छन् । दसैँ मनाउने शैलीमा आएका परिवर्तनहरू अधिकतर आर्थिक तथा सामाजिक पक्षसँग सम्बन्धित छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

कोहलपुर निवासी लेखक सागर गैरेका मातापिता बर्दियाको ककौरा गाउँमा बस्छन् । सबै भाइहरू चाहिँ कोहलपुरमा । ‘आमाबा गाउँ नै रमाइलो मान्नुहुन्छ । उहाँका साथीसंगीहरूदेखि लिएर खेतबारी सबै उतै भएकाले उहाँहरूको मन गाउँमै रमाउँछ,’ गैरेले भने । तर दसैँको बेला बर्दियामा सबै भाइहरूको परिवार भेला भएर जानभन्दा मातापितालाई कोहलपुरमै ल्याएर मनाउन सहज हुने भएपछि यसवर्ष दसैँमा मातापिता कोहलपुर आउन लागेका गैरेले बताए ।

दसैँमा सहरमा रहेका छोराछोरीहरू गाउँमा पुग्ने चलनमा समयसँगै परिवर्तन आउँदै छ । गाउँबाट अवसरको खोजीमा मानिसहरू सहरमा बसाई सरेसँगै अब चाडबाड र उल्लासको समयमा मात्रै भए पनि गाउँले पाउने चहलपहलको हिस्सा पनि अब सहरले लिन थालेको छ । बुटवलका सुशील न्यौपाने पनि भन्छन्, ‘अहिले गाउँमा प्रायः बूढाबूढीहरू मात्रै बस्छन् । परिवारजति सहरमै हुन्छन् । अनि धेरै जना बोकेर गाउँ जानुभन्दा गाउँबाट बरु आमाबुबालाई सहर बोलाउँदा सजिलो हुने भएपछि अहिले गाउँबाट दसैँ मनाउन मानिसहरू सहर आउने गरेका छन् ।’

नेपालमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइ सर्ने क्रम बढ्दो छ । जनगणना २०७८ को नतिजाले नेपालमा ग्रामीण क्षेत्र र नगर क्षेत्रको जनसंख्याको हिस्सामा ठूलो भिन्नता आएको देखाएको छ । संघीय संरचना लागू हुँदा नेपालमा ६३ दसैँमलव १९ प्रतिशत जनसंख्या नगर क्षेत्रमा रहेकोमा २०७८ सालमा जनगणना हुँदा नगर क्षेत्रको जनसंख्याको हिस्सा ६६ दसैँमलव १७ प्रतिशत पुगेको छ ।

अझ २०६८ सालमा जनगणना हुँदा त्यतिबेलाको संरचनाअनुसार मात्र १७ दसैँमलव ०७ प्रतिशत जनसंख्या नगर क्षेत्रमा बसोबास गथ्र्याे । यसले गाउँबाट सहरमा बसाइँ सर्ने क्रम तीव्र रहेको देखाउँछ । त्यसमा पनि काम गर्ने उमेरका मानिसहरू सहरमा बस्ने र गाउँमा वृद्ध उमेरका मानिसहरू मात्रै बसोबास गर्ने भएपछि दसैँमा मान्यजनहरू नै सहर झर्न थालेको अवस्था देखिएको छ ।

पछिल्लो समय दसैँ मनाउने सामाजिक शैलीमा परिवर्तन आउँदै गरेको यो एउटा उदाहरण हो । जागिर तथा पेसा व्यवसायको तनावबाट मुक्त भएर आफन्तहरूसँग समय बिताउन दसैँले अवसर सिर्जना गरिदिन्छ । नयाँ योजना तथा पारिवारिक सरसल्लाहको उपयुक्त अवसर पनि हो, दसैँ । तर, परिवारका सदस्यहरू देश तथा स्वस्थानमा रोजगारीको अभावमा एक अर्काबाट भौतिक रूपले टाढा बस्नुपरिरहेको छ । त्यसरी टाढा भएका मानिसहरूलाई प्रविधिले जोडेको छ । सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर भर्चुअल माध्यमबाट समेत टीका जमरा लगाएर मनाउन थालिएको छ ।

दसैँ मनाउने तौरतरिकामा आएको एक परिवर्तन यो पर्व परनिर्भर हुँदै जानु पनि हो । हिजो दसैँ मनाउन चाहिने भौतिक साधनहरूमा परनिर्भरता थिएन । आफ्नो बारीमै फलेका तरकारी र अन्नपात प्रयोग हुन्थे । विशेषगरी पहाडी क्षेत्रमा स्थानीय रूपमै उपलब्ध कमेरो र रातोमाटोले घर लिपपोत र सरसफाइ गरिन्थ्यो । एकैपटक सबै घरहरू लिपपोत गरिँदा पहाडी गाउँहरूमा अनौठो चमक थपिन्थ्यो । अहिले त्यस्ता घरहरू पनि विस्थापित भएर सिमेन्टेड र जस्तापाताले छाएका घरहरूले लिँदै छन् ।

दसैँलाई असुरक्षित चाड बनाउने कारण मदिरा बनिरहेको छ । बजारमा मदिराका चमकदार विज्ञापनहरूले झकिझकाउ पारिन्छ । मदिरामा झुम्दै अमौलिक गीतहरूमा नाच्ने चलन बढेको छ । पछिल्लो पुस्तामाझ दसैँको अर्थ जुवा, तास र मदिरामा मात्तिनुमा सीमित हुन थालेको बूढापाकाहरू गुनासो गर्छन् ।

दसैँ चङ्गाको मौसम पनि हो । आकाशमा चङ्गा देख्न अहिले मुस्किल पर्न थालेको छ । पिङमा चचहुई गरेर आनन्दमा निमग्न रहने युवा पुस्ता अहिले मोबाइलमा घोप्टो परिरहेको भन्दै बूढापाकाहरू व्यङ्ग्य गर्न थालेका छन् । फाट्टफुट्ट केही होटल तथा रेस्टुरेन्ट, प्रहरी तथा सेनाले हाल्ने पिङबाहेक स्वतःस्फुर्त रूपमा पिङ हाल्ने क्रम न्यून हुन थालेको छ ।

समयसँगै हरेक चिजले रूप बदल्छ । दसैँ मनाउने तौरतरिकामा पनि समयसँगै परिवर्तन आएका छन् । कति परिवर्तन स्वाभाविक पनि छन् भने कति परिवर्तनहरू मौलिकतालाई बिर्साउने र समाजलाई लाभ नदिने खालका पनि छन् । दसैँ मनाउने शैलीमा आएका परिवर्तनहरू अधिकतर आर्थिक तथा सामाजिक पक्षसँग सम्बन्धित छन् ।

दसैँको सांस्कृतिक पक्ष 

सांस्कृतिक रूपले ‘असत्यमाथि सत्यको विजय’को उत्सवका रूपमा मनाइने हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो दसैँ । यो पर्व धार्मिक तथा पौराणिक हिसाबले मात्रै नभई सांस्कृतिक र सामाजिक मूल्यका दृष्टिकोणबाट पनि उत्तिकै महत्वपूर्ण छ ।

वर्षायाम सकिएर हिउँदयाम सुरु हुने समयमा पर्ने यो चाडले बाढी, पहिरो, रोगकीराको डर हुने मौसमको बिदाइ र वर्षभरिका लागि उब्जनी भएको अन्नलाई स्वागत एकसाथ गर्दछ । साथै देश विदेश र भौतिक दूरीमा रहेका आफन्तहरूको सम्मिलनको अवसर सिर्जना गर्दछ ।

मान्यजन र अनुजको सम्बन्ध पुनःस्मरण गराउँछ । फरक पुस्ताबीचको संवाद र ज्ञान हस्तान्तरणका लागि पनि दसैँ एक विशेष अवसर हो ।
नेपालको तराई क्षेत्र र विशेषगरी बाँकेलगायत अवधी भाषी समुदायको बसेबास रहेको क्षेत्रमा दसैँलाई दुर्गाको मूर्तिपूजा र रामकथाको श्रवण गरी मनाउने गरिन्छ । पहाडी क्षेत्रमा दसैँमा मूर्तिपूजा कम तर, मेलापर्वका रूपमा बढी मनाइने चलन छ । बलि चढाउने प्रचलन पनि छ ।

दसैँैंको दिन कस्तो रहला मौसम ?

बडादसैँैंको सप्तमीदेखि दसैँमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार दसैँैं विशेष मौसम बुलेटिन जारी गर्दै यसबारे जानकारी गराएको हो ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागमा भने मौसम सफा रहनेछ । हाल कोशी र मधेश प्रदेशका केही थोरै स्थानमा मनसुनी वायु बाँकी छ । बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको छ ।

साथै सप्तमीदेखि दसैँैंको टीकाको दिनसम्म अहिलेको तुलनामा जाडो भने बढ्नेछ । अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २४ गते बिहीबार