काठमाडौँ ।
जनस्तरबाट व्यापक विरोध हुने देखिएपछि सरकारले ‘ब्लु बस’ अवधारणाअन्तर्गत साझा यातायातका केही गाडीको रङ परिवर्तन गरेर निलो बनाउने तयारीबाट पछि हटेको छ । यसको अर्थ अब साझा बसहरू अहिलेकै हरियो रङमै सञ्चालन हुने भएका छन् । निःशुल्क सेवा दिने बसको सङ्ख्या पनि अझै टुंगो लागेको छैन । ६ वटा वा ८ वटा बस सञ्चालन गर्नेबारे छलफल भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको यातायात व्यवस्था विभाग र साझा यातायातका अधिकारीहरूले बताएका छन् ।
बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि बढाएको थियो । सुरूमा साझा यातायातका हरियो बसको रङ नै परिवर्तन गरेर निलो बनाएर सञ्चालन गर्न साझा यातायात र सरकारका प्रतिनिधिहरू बीच अनौपचारिक छलफल भएका थिए । त्यसपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यसको व्यापक चर्चा र आलोचना भएको थियो । तर अहिले सरकारको तयारी बदलिएको छ । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले पहिले नै कलर परिवर्तन गर्ने विषयमा निर्णय नभएको दाबी गरे ।
‘मुख्य कुरा कलरभन्दा सेवा हो । पहिले एआई जेनेरेट धेरै निलो कलरको गाडीको कारण व्यापक बहस भयो । हामीलाई धेरै सुझावहरू पनि आए । हामीले ती सुझावहरू मनन गरेका छौँ ।’ उनले भने । साझाका अधिकारीहरूका अनुसार साझा बसको मौलिक हरियो रङ परिवर्तन नगरिने निचोडमा सरकार र साझाका प्रतिनिधि पुगेका हुन् । ‘ब्लु बस’ नाम भने सांकेतिक रूपमा प्रयोग हुने बताइएको छ । बसमा स्टिकर वा ब्यानर राख्ने विकल्पबारे छलफल भए पनि पूरा बस निलो बनाउने निर्णय भएको छैन । सरकार र साझा यातायातबीच सेवा सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ ।
साझा यातायात र यातायात व्यवस्था विभागबीच समझदारी पत्र (एमओयू) तयार गर्ने काम भइरहेको साझा यातायातले जानकारी गराएको छ । एमओयूमा हस्ताक्षर भएपछि मात्र सेवा सञ्चालनको मोडालिटी र कार्ययोजना अन्तिम हुनेछ । अहिलेसम्म महिलाले मात्र चढ्ने कि उनीहरूसँग सहयोगी पनि जान पाउने भन्ने विषय पनि टुंगो लागेको छैन । निःशुल्क यात्रा कसरी व्यवस्थापन गर्ने, टिकट प्रणाली कस्तो हुने र खर्चको भुक्तानी कसरी गर्ने भन्ने विषय पनि कार्यविधिमार्फत तय गरिनेछ ।
साउन १ गतेदेखि सेवा सुरू हुने वा नहुने विषयमा पनि औपचारिक निर्णय भइसकेको छैन । आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्रै सञ्चालन मिति तय हुने अधिकारीहरू बताउँछन् । यातायात व्यवस्था विभागका निर्देशक गणेशसिंह राईले पनि अहिले समझदारी पत्र तयार गर्ने काम भइरहेको बताए । उनका अनुसार दस्ताबेजमा हस्ताक्षर भएपछि मात्रै सेवा सञ्चालनको विस्तृत कार्ययोजना लागू हुनेछ ।
हालसम्म यो विषय औपचारिक निर्णयको चरणमा पुगिनसकेको र प्रस्ताव तथा छलफलकै अवस्थामा रहेको उनको भनाइ छ । यसअघि मन्त्रालयले साझा यातायातका ८ वटा बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने तयारी गरेको जनाएको थियो । त्यसका लागि वार्षिक करिब ३ करोड रूपैयाँँ सरकारी खर्च लाग्ने अनुमान पनि गरिएको थियो । सरकारले यो योजनालाई शासकीय सुधारका १०० कार्यसूचीको ९७औँ बुँदामा समावेश गरेको छ । बालेन शाह नेतृत्वको सरकार गठन भएको भोलिपल्ट स्वीकृत गरिएको उक्त कार्यसूचीअनुसार १०० दिनभित्र ब्लु बस सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।
तर योजना सार्वजनिक भएसँगै यसको राजनीतिक अर्थ खोज्न थालिएको थियो । सरोकारवालाले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा सञ्चालन गरेको ‘ब्लु बस’को नक्कल भएको टिप्पणी गरेका थिए । लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि २०८० वैशाखमा चितवन–२ मा आफ्नै खर्चमा ‘ब्लु बस’ सञ्चालन गरेका थिए । महिलाले निःशुल्क यात्रा गर्न पाउने गरी भाडामा बस लिएर सेवा सुरू गरिएको थियो । ती बस करिब पाँच महिनासम्म सञ्चालनमा रहे ।
चितवनमा चलाइएका ती बसको रङ र त्यसमा प्रयोग गरिएको अक्षरको रङ रास्वपाको झण्डासँग मिल्ने भएकाले त्यतिबेला पनि राजनीतिक बहस भएको थियो । यसपटक पनि काठमाडौँ उपत्यकामा ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारी तयारी सार्वजनिक भएपछि साझा बसको रङ परिवर्तन गरेर राजनीतिक सन्देश दिन खोजिएको आरोप लागेको थियो ।









प्रतिक्रिया दिनुहोस्