दाङमा चाडबाडलक्षित सुरक्षा सतर्कता



शिवु खनाल । दाङ ।

नजिकिँदो चाडबाडलाई लक्षित गरी दाङमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाबी गरेका छन् । दसैँसँगै तिहार तथा छठ जस्ता प्रमुख पर्व नजिकिँदै गएकाले जिल्लाभर सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी लम्सालले चाडपर्वलाई सुरक्षित, म¥र्यादित र सद्भावपूर्ण बनाउन चाडबाडलक्षित सुरक्षा योजना परिचालन गरिएको बताए । पर्वको समयमा शान्ति सुव्यवस्था कायम गर्न अमनचयन खल्बलिन सक्ने स्थानको पहिचान गरी ती ठाउँमा विशेष सुरक्षा व्यवस्था मिलाइएको लम्सालले बताए ।

‘विशेषतः दसैँको मेला लाग्ने, दुर्गा मन्दिर र मूर्ति भएका स्थानलाई सुरक्षाको विशेष निगरानीमा राखिएका छन्,’ उनले भने, ‘विगतका घट्नाक्रम, सामाजिक एवम् धार्मिक स्वरूप र भौगोलिक अवस्थिति जस्ता विषयलाई विश्लेषण गरी सुरक्षा परिचालनको व्यवस्था मिलाइएको छ ।’
चाडबाडको बेला सशस्त्र र नेपाल प्रहरीलाई सतर्क अवस्थामा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल कोइलाबासका गुल्मपति गोविन्द केसीले गाउँघरदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म गस्तीलगायतको सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

‘क्रसबोर्डर अपराध नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग पनि समन्वय र सहमति भएको छ । घटस्थापनादेखि मूर्ति विसर्जनको अवधिसम्म सीमा नाकामा सूक्ष्म निगरानी, सूचना आदानप्रदानका साथै सुरक्षा जाँचलाई पनि तीव्रता दिइएको छ,’ उनले भने । चाडबाडलक्षित सुरक्षाका लागि गाउँबस्तीदेखि वन क्षेत्रसम्म विभिन्न प्रकारको सुरक्षा परिचालनको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विशेष सुरक्षा योजनालाई जिल्ला सुरक्षा समितिको बैठकले पनि पारित गरिसकेकाले कार्यान्वयन तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले सादा पोसाकमा सुरक्षा परिचालन, यातायात सुरक्षा, आकस्मिक चेक जाँच, यात्रु सुविधाका लागि नागरिक सहायता कक्ष स्थापना, प्रमुख मार्गमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त गस्तीलगायतका व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रहरीले रात्रिकालीन यात्रु बसको सुरक्षालाई ध्यानमा राखेर वन क्षेत्रमा सुरक्षाको विशेष प्रबन्ध मिलाएको पनि जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग खण्डमा घना जंगल पर्छ । सुरक्षाको दुष्टिकोणले वन क्षेत्र संवेदनशील मानिन्छ ।

पर्वको अवधिभर राजमार्गको वन क्षेत्रमा सघन गस्ती र आकस्मिक सुरक्षा चेकजाँचका साथै रात्री बसमा सादा पोसाकको प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार राजमार्ग क्षेत्रमा सुरक्षा प्रभाव बढाउन सशस्त्र प्रहरीसँग पनि सहकार्य गरिएको छ ।

प्रहरीले जिल्लाका भित्रि सडकमा समेत थप सुरक्षा निगरानी, आकस्मिक गस्ती, ‘क्विक रेस्पोन्स टिम’ प्रहरी पिकेट जस्ता विशेष सुरक्षा परिचालन मिलाएको जनाएको छ । पर्वका बेला चर्को स्वरमा माइक बजाउने, ध्वनि प्रदूषण गर्ने जस्ता गतिविधि नियन्त्रणका लागि प्रशासनले डिजे बजाउन पनि रोक लगाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार