बाँके ।
बाँकेसहित तराईका केही जिल्लामा शनिबार र आइतबारको वर्षाले भित्र्याउने बेलाको धानबालीमा क्षति पु¥याएको छ । शनिबार र आइतबार बाँकेसहित पश्चिम तराईका केही जिल्लामा वर्षा भएको थियो । यसअघिको हावाहुरीले ढालेको धान काटेर भित्र्याउने योजनामा रहेका किसान वर्षाले धानबालीमा क्षति पु¥याएपछि चितिन्त बनेका छन् ।
काटेर भित्र्याउने बेलाको बाली कहिले हावाहुरीले कहिले वर्षाले क्षति गराइरहेको बाँके राप्ती सोनारी–३ की बजारी थारूले बताइन् । ‘पानीले भिजेर धान खेतमा जमराझैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ,’ उनले भनिन् ।
करिब ६ कट्ठा जमिनमा लगाएको महेन्द्र ६ सय ६ जातको धान भिजेको बताउँदै थारूले घाम देखिन थालेकोमा खुसी व्यक्त गरिन् । यसबाहेक गाउँका करिब ११ परिवारको धानबालीमा वर्षाले क्षति पु¥याएको उनले बताइन् । केही दिनयता घाम लाग्ने गरे पनि बिहान र दिउँसो केहीबेर पानी पर्न थालेपछि किसानहरू धान काट्ने कि नकाट्नेमा दुविधामा छन् ।
शनिबार बिहानै र आइतबार दिउँसो समेत बाँकेमा पानी परेको थियो । राप्ती सोनारीका किसान रणबहादुर थारूले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको जनाउँदै उनले धान उम्रिने अवस्थामा पुगेको बताए ।
‘मौसम सफा भए बाली भित्र्याउन पाइन्थ्यो । घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?’ उनले प्रश्न गरे । बर्दिया बाँसगढीका किसान श्रीधर पौडेलले समेत मौसमले साथ नदिँदा धान काट्ने कि नकाट्ने भन्नेमा आफूहरू दोधारमा रहेको बताए ।
‘मौसम हेर्दा सफा जस्तो देखिन्छ । फेरि केही समयमै पानी परिहाल्छ कि जस्तो हुन्छ,’ उनले भने, ‘धान पाकिसकेको छ । मौसम राम्रोसँग सुधार नभएकाले धान काट्न सकेका छैनौँ ।’









प्रतिक्रिया दिनुहोस्