मान्छे खाने एउटा चितुवा नियन्त्रणमा



बाँके ।

खजुरा गाउँपालिका–६ सिमलघारीमा घरको आँगनबाटै २६ महिनाकी नाबालिकालाई आक्रमण गरेर खाएको खोज्ने क्रममा एउटा चितुवा नियन्त्रणमा आएको छ । घरको आँगनबाटै लगेर नाबालिकालाई खाएको १९ दिनपछि एउटा चितुवा नियन्त्रणमा आएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले जानकारी दिए ।

सिमलघारीकी २६ महिनाकी लक्ष्मी पुन गत भदौ ३० गते बेलुका घरको आँगनबाटै हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिकै रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा उनको शव फेला परेको थियो ।

घटनाको १९ दिनपछि शुक्रबार बिहान भाले चितुवालाई गिजरा सामुदायिक वन समूहको जंगलबाट नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।

‘चितुवाले समस्या पारेको जनगुनासो रहेको आइरहेको थियो, एउटा बच्चा पनि जंगलमा मृत अवस्थामा फेला परेको अवस्था थियो,’ उनले भने, ‘वन्यजन्तुबाट हानी नोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा नियन्त्रणमा लिन सफल भयौँ ।’

बच्चालाई खाने चितुवा यही हो भन्ने एकिन भने हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले जानकारी दिए । ‘कुन चितुवाले लगेर मा¥यो भन्ने पुष्टि हुन सकेको छैन, बच्चाको पोष्टमार्टम रिपोर्ट पनि अझै आइपुगेको छैन, अनुसन्धानकै क्रममा छ,’ उनले भने ।

चितुवा नियन्त्रण गर्नका लागि कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरा समेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीलाई ९ दिनसम्म गिजरा सामुदायिक वन क्षेत्रमै परिचालन गरिएको थियो ।

ठाउँ–ठाउँमा क्यामेरा जडान गरी जंगलमै आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा ल्याएर राखिएको छ ।

चितुवा नियन्त्रणमा लिन खटिने सबैलाई धन्यवाद दिँदै गाउँपालिकाका अध्यक्ष तुुफानले पीडित परिवारलाई राज्यले आवश्यक राहत र क्षतिपूर्ति दिनुपर्ने बताए । ‘पीडित परिवारलाई राज्यले आवश्यक राहत र क्षतिपूर्ति दिनुपर्छ, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजगता अपनाउनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार