बाँके ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका छन् । बुधबार सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत उनी आफ्नो टोलीको मुख्य प्रशिक्षक भएको जानकारी दिएको हो ।
टमाटा नेपाली क्रिकेटका सर्वाधिक सफल स्वदेशी प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा नेपालले सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको थियो । उनले सन् २०१६ देखि २०१९ सम्म नेपालको मुख्य प्रशिक्षक बनेर काम गरेका थिए ।
उनी पछिल्लोपटक सन् २०२० मा थाइल्यान्ड भ्रमणमा एसीसी इस्टर्न रिजनमा नेपालको मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षणमा नेपालले तीन पटक यू–१९ विश्वकप (२०१२, २०१६ र २०२४) मा खेलेको थियो । हाल उनी नेपालको सहायक प्रशिक्षकको रूपमा क्यानडामा छन् ।
इम्पायर स्पोर्ट्सको स्वामित्वमा रहेको सुदूरले आफ्नै क्षेत्रका दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पाएको थियो । टिम स्वामित्व किन्न इम्पायरले १ करोड ६८ लाख रुपैयाँ खर्चेको थियो ।
खेलाडीहरूको अक्सन भने असोज २० गते काठमाडौँमा हुँदै छ । एनपीएल मंसिर १५ देखि पुस ६ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । कर्णाली याक्सले नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक तथा निर्देशकमा नियुक्त गरेको छ ।
चितवन राइनोजले उमेश पटवाललाई ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्