रामलीला मञ्चनको सुरुवात स्थानीयस्तरकै कलाकारहरूले गरेका थिए । पछि रामलीलालाई भव्य बनाउन राम्रा कलाकारहरू खोज्ने क्रममा भारतका कलाकार ल्याउन थालियो । अहिले पनि प्रत्येक वर्ष भारतको वृन्दावनबाट कलाकारहरू रामलीला मञ्चनका लागि नेपालगन्ज आउने गरेका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
शालिकराम शर्मा विगत ३५ वर्षदेखि नेपालगन्जमा मञ्चन हुँदै आएको रामलीलाको मञ्च व्यवस्थापनको काममा संलग्न रहँदै आएका छन् । हाल रामलीला सञ्चालक समितिको उपप्रबन्धक रहेका शर्मा रामलीला मञ्चनप्रतिको आकर्षणमा ठूलो भिन्नता नआएको बताउँछन् । तर, अहिले पनि रामलीला मञ्चन गर्ने कलाकारहरू भारतबाट बोलाउनुपर्ने अवस्था रहेको उनले बताए ।
यस वर्ष पनि करिब दुई दर्जनको सङ्ख्यामा भारतको वृन्दावनबाट कलाकारहरू रामलीला मञ्चनका लागि नेपालगन्ज आउँदै छन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडिया पनि स्थानीयस्तरमै कलाकारहरू उत्पादन गर्न आफूहरूले प्रयास गरे पनि सफल नभएको बताउँछन् ।
नयाँ मुलुक पुनः प्राप्त भएको र बाँके बजारलाई त्यसको सदरमुकाम बनाइएको वर्ष सन् १८६१ लाई आधार मान्ने हो भने नेपालगन्ज व्यवस्थित सहर बन्न थालेको एक सय ६३ वर्ष भयो । रामलीला मञ्चन हुन थालेको एक सय ५७ वर्ष पुग्यो ।
रामलीला मञ्चनको सुरुवात स्थानीयस्तरकै कलाकारहरूले नै गरेको आफूले सुनेको अध्यक्ष कनोडिया बताउँछन् । जानकारहरूका अनुसार सुरुका केही वर्ष नेपालगन्जकै कलाकारले रामलीला मञ्चन गरेका थिए । पछि रामलीलालाई थप भव्य बनाउन राम्रा कलाकारहरू खोज्ने क्रममा भारतका कलाकार ल्याउन थालिएको कनोडिया बताउँछन् ।
रामलीला सञ्चालक समितिका उपप्रबन्धक शर्मा पनि आफ्नो सम्झनामा स्थानीय केही व्यक्तिले केही पात्रको अभिनय गरेको बताउँछन् । तर, लामो समय भइसक्यो ऐतिहासिक महत्व बोकेको रामलीलाको मञ्चनका लागि भारतकै कलाकारको भर पर्नुपरेको छ । भारतबाट आउने कलाकारहरूकै लागि साढे २ देखि ३ लाख रुपैयाँँ खर्च हुने गरेको उपप्रबन्धक शर्माले बताए ।
शर्मा भन्छन्, ‘यसका लागि तालिम दिने संस्था चाहिन्छ । वृन्दावनमा गुरुकुलमा उनीहरूले यसको तालिम नै लिँदा रहेछन् । उनीहरूका लागि यो एक पढाइ र धार्मिक संस्कारजस्तै हो । हामीकहाँ त्यस्तो व्यवस्था हुन सके मात्रै हो ।’
अध्यक्ष कनोडिया आफूहरू स्थानीय स्तरमै कलाकार उत्पादन गर्नका लगि पहल गरे पनि सफल नभएको बताउँछन् । उनले भने, ‘वृन्दावनमा त गुरुकुलबाटै कलाकारहरू तयार हुन्छन् । काठमाडौँमा थिएटरहरू छन् र कलाकारहरू तयार हुन्छन् । तर यहाँ त्यस्तो कुनै व्यवस्था छैन । प्रयास त गरेको हो, तर कतैबाट चासो देखिएन ।’ राज्यले यस्ता सांस्कृतिक धरोहरको निर्माणतिर ध्यान दिन सकेमा मात्रै कलाकारहरू उत्पादन हुने कनोडियाले बताए ।
भारतबाट आउने कलाकारहरूलाई दिने पारिश्रमिक र रामलीला आयोजनामा लाग्ने खर्च समितिले सहयोग संकलन गरेर र समितिका सदस्यहरूले उठाएर पूर्ति गर्छ । यसका लागि स्थानीय सरकार र संघसंस्थाहरूबाट पनि सहयोग प्राप्त हुने गरेको समितिले जनाएको छ ।
रामलीलाको तयारी पूरा
नेपालगन्जमा मञ्चन हुँदै आएको रामलीलाको एक सय ५७औँ संस्करणको तयारी पूरा भएको छ । रामलीला सञ्चालक समिति नेपालगन्जका अनुसार मञ्च सजावटको काम पनि अन्तिम चरणमा छ भने भारतबाट कलाकारहरू बुधबार नेपालगन्ज पुगिसकेका छन् ।
कलाकार टोलीले नै मञ्च सजावटको काम गर्ने गरेको समितिका उपप्रबन्धक शालिकराम शर्माले बताए । नेपालगन्जको रामलीला मैदानमा आज दसैँको घटस्थापनादेखि विजयादशमीसम्म रातिको समयमा धारावाहिक रूपमा रामलीलाको मञ्चन हुनेछ । हिन्दु धर्मावलम्बीले मर्यादापुरुषोत्तम भगवान्का रूपमा पूजा गर्ने रामको आदर्श चरित्रको मञ्चमा गरिने नाटकीय प्रस्तुति अर्थात रामलीला नेपालगन्जको एक संस्कृतिकै रूपमा विकास भइसकेको छ ।
रामलीला हेर्नका लागि हिन्दु धर्मावलम्बी मात्रै नभएर सबै धर्मावलम्बीहरू रामलीला मैदान पुग्ने गरेका छन् । रामको मर्यादापुरुषोत्तमको रूपमा रहेको चरित्रले हरेक मानिसलाई असल मानिस बन्न प्रेरित गर्ने भएकाले सबैले रामलीलालाई श्रद्धापूर्वक हेर्ने गरेको समितिका अध्यक्ष कनोडियाले बताए ।
रामचरित मानसमा आधारित रामलीला मञ्चनको सुरुवात हुने आज घटस्थानाका दिन दिउँसो २ बजे नेपालगन्जमा शोभा यात्रा निकालिने समितिका अध्यक्ष कनोडियाले जानकारी दिए । १७ गते साँझ ७ बजे सुरु हुने रामलीला मञ्चनमा १८ गते राम जन्मोत्सव, २१ गते धनुष यज्ञ, २६ गते रावण बध, २७ गते भरत मिलाप र शुभ राज्याभिशेषको मञ्चन गरिने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्