राँझाबाट ब्राउनसुगरसहित २ जना पक्राउ



बाँके ।

नेपाल प्रहरीले बुधबार ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित नेपालगन्जको राँझाबाट दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कन्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगन्ज उप–महानगरपालिका–२ राँझास्थित एक व्यक्तिको कोठाबाट ९९ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

ब्राउनसुगरसहित पक्राउ पर्नेमा भारतको रुपैडिहा बस्ने राहुल शुक्ला र दुलाल चन्द्र कामी रहेका छन् । गोप्य सूचनाका आधारमा राँझास्थित कामीको कोठामा खानतलासी गर्ने क्रममा शुक्लाको पाइन्टको दायाँ खल्तीबाट प्लास्टिकको दुई पोका लागूऔषध ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

साथै सोही कोठामा खानतलासी गर्नेक्रममा लागूऔषध ब्राउनसुगर तौल गर्न प्रयोग गरिने एक थान डिजिटल तराजुसमेत बरामद भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा सो लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिए ।

कामी र शुक्लालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गराई कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार