कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य



सुर्खेत ।

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

गत जेठ ११ गतेबाट चालु अधिवेशन सुरू भएको थियो । यो कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन हो । यो अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

चालु अधिवेशनबाट सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरिएको थियो । सार्वजनिक सरोकारका केही विधेयक दर्ता भएका थिए । तीमध्ये निजामती ऐन संशोधनसम्बन्धी विधेयक र लोकमार्गसम्बन्धी विधेयक संसदमै छन् भने बाँकी विधेयक समितिमा छलफलका लागि पठाइएको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार