विपदबाट २२६ जनाको मृत्यु, १७ अर्बको क्षति



बाढी र पहिरोका कारण सडक र पुलतर्फ २ अर्ब ५२ करोड, खानेपानीतर्फ ३ अर्ब ५५ करोड, उर्जातर्फ ४ अर्ब, कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब, सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । यसबाहेक दूरसञ्चार, यातायात लगायतका क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । सबै क्षतिको विवरण आउन अझै केही समय लाग्ने सरकारले जनाएको छ ।
बाँके ।

गत बिहीबारदेखि आइतबार साँझसम्म परेको अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबानबाट कम्तिमा २२६ जनाको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार बाढीपहिरो र डुबानमा परेर २५ जना बेपत्ता रहेका छन् ।

यस अवधिमा प्राकृतिक विपद्मा परेर १५९ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट सुरक्षाकर्मीले १३ हजार ६१ जनाभन्दा बढी मानिसहरूको उद्धार गरेका छन् ।

सुरक्षाकर्मीहरूले उद्धार र खोजीको काम गरिरहेकोले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ । बिहीबारदेखि आइतबार साँझसम्म परेको अविरल वर्षाका कारण उत्पन्न विपद्बाट देशका २१ वटा जिल्ला बढी प्रभावित भएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौँ, ललितपुर, सिन्धुली, मकवानपुर लगायतका २१ जिल्ला बढी प्रभावित भएको बताए ।

विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ सुरक्षाकर्मीहरू परिचालन गरिएको मुख्यसचिव अर्यालले जानकारी दिए । खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने समेत सरकारले जानकारी दिएको छ ।
त्यस्तै घरबारविहीन भएकाहरूलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने र मृतकको परिवारलाई जनही २ लाख रुपैयाँ दिने समेत मुख्यसचिव अर्यालले जानकारी दिए ।

यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको थियो । त्यस्तै, अवरूद्ध सडक बाटो खुलाउने प्रयास भइरहेको उनले बताए । बाढीपहिरोपछि ३७ वटा राजमार्ग अवरूद्ध भएकोमा मंगलबार साँझसम्ममा ९ वटा सञ्चालनमा आइसकेको उनले दाबी गरे ।

यसैगरी सरकारले मंगलबार दिएको जानकारी अनुसार वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्ब बढीको क्षति भएको छ । कृषि, सडक, खानेपानी, उर्जा, दूरसञ्चार, सिँचाइ लगायतका पूर्वाधारमा कम्तिमा पनि १७ अर्ब बढीको क्षति भएको हो ।

बाढी र पहिरोका कारण सडक र पुलतर्फ २ अर्ब ५२ करोड खानेपानीतर्फ ३ अर्ब ५५ करोड, उर्जातर्फ ४ अर्ब, कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब, सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

‘यसप्रकारको वर्षा र क्षति होला भन्ने सोचिएको थिएन’


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यति धेरै जनधनको क्षति हुने गरी वर्षा होला भन्ने नलागेको बताएका छन् । मंगलबार सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नमा जवाफ दिदैँ प्रधानमन्त्री ओलीले अचानक वर्षा आइपरेको र यति धेरै क्षति होला भन्ने कल्पना पनि नगरिएको बताए ।

‘अचानक आइप¥यो, हाम्रो तयारी यसप्रकारणको परिस्थितिका लागि थिएन,’ उनले भने, ‘यसप्रकारको वर्षा होला र पहिरो जाला तथा क्षति होला भन्ने थिएन । यति धेरै भौतिक र मानवीय क्षति होला भन्ने अनुमान थिएन ।’

प्रधानमन्त्री ओलीले अहिले जनता पीडामा रहेकोले उद्धार, राहत र पुर्नस्थापनामा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले विपद्लाई राजनीतिक रङ नदिन पनि आग्रह गरे । सरकारले तीन दिन शोक मनाउने र आधा झन्डा झुकाउने निर्णय गरेको पनि प्रधानमन्त्री ओली पत्रकार सम्मेलनमा बताए । उनले उद्धारका बेला कमीकमजोरी भएका पनि हुन सक्ने बताएका थिए ।

‘कमीकमजोरी पनि भयो होला तर सरकारले उद्धार पनि गरेको छ । सुरक्षाकर्मीले चार हजार जनालाई उद्धार गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘कहीँ कमीकमजोरी भएका छन् भने सच्याउनुपर्छ ।’

उनले विपत्ति ठूलो आइपरेकोले विगतमा भूकम्प जाँदाजस्तै सरकारको पूर्वतयारी पनि काम नलागेको बताए । क्षति भएका संरचनाहरू निर्माण गरिने पनि प्रधानमन्त्री ओलीले बताए । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुल, सडकलगायत संरचना निर्माण गर्ने उनको भनाइ रहेको थियो ।

 

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार