गणेशमानदेखि चारबाहिनी चोकसम्मको सडक वान–वे



नेपालगन्ज ।

नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी (वान–वे) बनाइएको छ ।

हाललाई सोमबारदेखि गणेशमान चोकबाट चारबाहिनी हुँदै भेरी अस्पताल पुग्ने सडकलाई वान–वे बनाइएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

सो सडक खण्डमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म एकतर्फी मात्रै सवारी चलाउन पाइने उनले बताए । वान–वे अवधिमा गणेशमान चोकबाट भेरी अस्पतालतिर मात्रै सवारी चलाउन पाइनेछ ।

भेरी अस्पतालबाट फर्किनका लागि वैकल्पिक माग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त सडकमा सवारी साधनको चाप हुँदा अस्पताल सम्म बिरामी लैजाने एम्बुलेन्सलगायतका सवारी साधनहरू लैजान समस्या हुने गरेको भन्दै वान–वे बनाउनुपर्ने माग हुँदै आएको थियो ।

यसका साथै नेपालगन्जको विपी चोकदेखि त्रिभुवन चोक र धम्बोझीदेखि सेतु विक चोकको बाटोलाई पनि वान–वे बनाउनुपर्ने माग हुँदै आएको छ । तर, ट्राफिक प्रहरी प्रमुख पन्तले हाललाई अन्य सडकमा वान–वे बनाउने योजना नभएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार