कोहलपुर उ.वा. संघ चुनाव : लोकतान्त्रिक समूहद्वारा उम्मेदवार घोषणा



आसन्न कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनको लागि लोकतान्त्रिक समावेशी व्यवसायी समूहले प्रदिप भट्टराईको नेतृत्वमा सोमबार उम्मेदवारहरू घोषणा गरेको थियो ।

कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघको हुन गइरहेको निर्वाचनका लागि लोकतान्त्रिक समावेशी व्यवसायी समूहले उम्मेदवारहरू घोषणा गरेको छ । संघको आगामी कार्तिक ३ गते हुन गइरहेको निर्वाचनको लागि एक कार्यक्रम गरेर सोमबार लोकतान्त्रिक समूहले उम्मेदवारहरू घोषणा गरेको हो ।

लोकतान्त्रिक समूहले प्रदिप भट्टराईलाई अध्यक्ष पदमा अगाडि सारेको छ । उनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्ष हरीशरण केसी, बस्तुगत उपाध्यक्ष राकेश विष्ट र महासचिवमा दिपकबहादुर भण्डारी रहेका छन् ।

उपमहासचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेंल र सहकोषाध्यक्षमा देविलाल सुनारलाई लोकतान्त्रिक समूहले उम्मेदवारका रूपमा अगाडि सारेको छ । सदस्य पदका उम्मेदवारमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधरी शर्मा र महिला सदस्यमा शितल योगी अधिकारी रहेका छन् ।

उम्मेदवारी घोषणा सभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार भट्टराईले आफू विगत लामो समयदेखि व्यवसायीहरूको पिर मर्का बुझ्दै आएको बताए । संघलाई विगत ३ कार्यकालदेखि नजिकै रहेर धेरै कुराहरूको अनुभव बटुलेकाले अब नेतृत्वमा रहेर व्यवसायीहरूका समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको उनले दाबी गरे ।

सदस्य, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा बसेर अनुभव बटुल्दै आफूले काम गरिसकेको बताउँदै भट्टराईले अब पनि अध्यक्षमा सबैकोे साथ र सहयोगले विजयी हुने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक समूहले संघको नेतृत्वमा रहेर विगतमा बृद्धि विकास र उद्योगी व्यवसायीहरूको हकहितमा काम गर्दै आएकोले अबको नेतृत्व पनि आफ्नो लोकतान्त्रिक समूहको विजयी हुनुपर्ने उनको भनाई रहेको थियो ।

उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, संघका अध्यक्ष लक्ष्मणराज पौडेल लगायतले उम्मेदवारहरूलाई विजयको शुभकामना दिएका थिए ।

नेपाली कांग्रेस कोहलपुर समितिका सभापति वीरेन्द्रकुमार शाहले लोकतान्त्रिक समूहका उम्मेदवारहरू सक्षम र योग्य रहेकोले जित निश्चित रहेको बताए । उम्मेदवारहरूलाई जिताउनको लागि सबैजना एकढिक्का भएर लाग्नुपर्नेमा उनको जोड रहेको थियो ।

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई नेकपा (एकिकृत समाजवादी) र नेपाल मजदुर किसान पार्टीको समेत समर्थन गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार