आवातजावतका लागि खुल्यो कोशी पुल



कोशी पुलबाट आवतजावत खुला भएको छ। शनिबार चार बजेयता पैदल यात्रुलाई रोक लगाएको जिल्ला प्रशासनले आइतबार दिउँसो साढे ३ बजेबाट आवतजावत खुला गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो। खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पानीको बहाव ह्वात्तै घटेको छ।

आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा अहिले साढे दुई बजेको अवस्था त्यसको आधा छ।

साढे दुई बजेको मापन अनुसार कोशीमा ३ लाख ९८ हजार ३७० क्युसेक पानीको बहाव छ। जलसतह घट्दै गएपछि कोशी तटीय क्षेत्रमा कटानको जोखिम बढ्न सक्ने सम्भावना स्थानीयबासीको छ।

यसअघि सप्तकोशी नदीमा पानीको बहावले अति खतराको संकेत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढिको रेकर्ड बनाएको थियो। झरी रोकिएपछि आइतबार बिहानदेखि जलसतह विस्तारै घट्न सुरू भएको थियो।

आइतबार बिहान कोशी ब्यारेजमा सबैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो। उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो।

शनिबार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो। कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक छ।

बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आकलन गरिएको थियो। जुन हालसम्मको अधिकतम बहावको नजिक हुने बताएको थियो।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार