समीर अली बेहना । नेपालगन्ज (बाँके) ।
नेपालगन्जस्थित सहयोगापेक्षी मानिसहरूलाई आश्रय दिँदै आएको नीलसागर सेवा आश्रमले भवन अभाव भोगिरहेको जनाएको छ । सेवाश्रमको शनिबार सम्पन्न ८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सरिता खनालले आश्रमको अवस्था दयनीय हुँदा आश्रित व्यक्तिहरूले कष्ट व्यहोरिरहेको बताइन् ।
सेवाश्रमको नेपालगन्ज– ६ फुलटेक्रामा निर्माणाधीन भवन निर्माणमा ढिलाई हुँदा संकट आइपरेको खनालको भनाइ छ । विगत ८ वर्षदेखि निरन्तर अनाथ बालबालिकादेखि लिएर बेवारिसे अवस्थामा सडकमा भेटिएका ज्येष्ठ नागरिकहरूसम्मलाई आश्रय तथा पालनपोषण गर्दै आएको नीलसागरको ६ वटा कोठा र एउटा हल भएको भवन अहिले अधुरो छ ।
अहिले भाडाको साँघुरो घरमा सञ्चालित आश्रममा एक सय ७० जनाले आश्रय लिइरहेका छन् । जसमध्ये ७० जना बालबालिका र एक सय जना ज्येष्ठ नागरिकहरू रहेका छन् ।
खनालले भवन निर्माणमा सहयोग गरी मानवीय कर्मलाई सफल बनाउन इच्छुक दाताहरूलाई आग्रह गरिन् । उनले संघीय र प्रदेश सरकारबाट ६० लाख बजेट प्राप्त भएपनि ठेकेदारले काममा ढिलाई गरेपछि दुई लाख बराबरको मात्रै काम सम्पन्न भएको जानकारी दिइन् । विभिन्न कारणले भवन निर्माणको काम स्थगित हुँदै आएको उनले बताइन् ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले आफ्नो तर्फबाट हुनसक्ने सहयोगका लागि पहल गर्ने बताए । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आश्रमलाई ५ लाख बराबरको ईट्टा दान गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्