क्यामेरामा पनि देखिन छाड्यो खजुरामा नाबालिका खाने चितुवा



नेपालगन्ज ।

खजुरा गाउँपालिका–६ सिमलघारीमा नाबालिकामाथि आक्रमण गर्ने चितुवा समात्नका लागि स्थानीय गिजरा सामुदायिक वनमा दुईवटा खोर राखिएका छन् । चितुवा लोभिएर खोरभित्र पसोस् र समात्न सकियोस् भनेर बाख्राहरू पनि राखिएको छ । चितुवालाई ट्र्याप गर्न क्यामेराहरू जडान गरिएका छन् ।

प्रहरीका अनुसार आधा दर्जनबढी कर्मचारी र सुरक्षाकर्मीहरूको बास चितुवालाई नियन्त्रणमा लिनकै लागि करिब डेढ हप्तादेखि सामुदायिक वनमै भइरहेको छ । केही दिनअघि दुईपटक चितुवा खोरनजिक आएको क्यामेरामा देखिएको पनि थियो । ‘तर, त्यसपछि चितुवा खोरनजिक आएको समेत छैन,’ इलाका प्रहरी कार्यालय खजुराका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीले भने ।

करिब डेढ हप्ताअघि खजुरा गाउँपालिका–६ सिमलघारीका वीरेन्द्र पुनकी तीन वर्षीया छोरी लक्ष्मी पुनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । साँझतिर आँगनबाटै चितुवाले लगेकी बालिकाको शव दुई दिनपछि जंगलमा भेटिएको थियो ।

त्यसपछि परिचालित प्रहरी, वन विभाग र निकुञ्जका कर्मचारी सम्मिलित टोलीले क्यामरामा दुईवटा चितुवा ट्र्याप गरेको थियो । चितुवा समात्नका लागि बाँके राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार