खजुरा ।
बाँकेका सबै राजनीतिक दलका प्रतिनिधिहरूले बाँकेको राप्ती नदीमा व्यवस्थित सद्गतिस्थल निर्माणार्थ सञ्चालन हुने ‘वैकुण्ठधाम आध्यात्मिक महोत्सव’लाई सफल बनाउन सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सव मूल समारोह समितिले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै बाँकेका सबै राजनीतिक दलका प्रतिनिधिहरूले महोत्सव सफल बनाउन सघाउने प्रतिबद्धता जनाएका हुन् ।
हिन्दु धर्मावलम्बीको दाहसंस्कार स्थल राप्ती नदीको सिधनियाँघाटमा अहिले उपयुक्त व्यवस्था नभएकोले व्यवस्थित सद्गतिस्थल बनाउन आर्थिक स्रोत जुटाउने उद्देश्यले नेपालगन्जस्थित रामलिला मैदानमा आउँदो कात्तिक २२ गतेदेखि ३० गतेसम्म महायज्ञको आयोजना गरिँदैछ । त्यसैलाई आयोजकले ‘वैकुण्ठधाम आध्यात्मिक महोत्सव’ नाम दिएको छ ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले आफ्नो दल महोत्सव सफल बनाउन तयार रहेको बताउँदै पारदर्शी भएर काम गर्न सुझाव दिए । नेपाली काँग्रेस बाँके प्रतिनिधि रेनु सिहले सामाजिक सञ्जालमा आएका नकारात्मक कुराहरूलाई चिरफार गर्दै अगाडी बढ्नु पर्ने बताईन् ।
नेकपा (माओवादी केन्द्र) बाँकेका अध्यक्ष नरेन्द्र पाण्डेले तीनै तहका सरकारसँग वैकुण्ठधाम निर्माणका लागि सहयोग र सहकार्यका लागि पहल गर्ने बताए । राप्रपा बाँकेका अध्यक्ष नरेन्द्रकुमार पौडेलले भात, खाट र अन्तमा घाटले मानिसको जीवनमा महत्वपूर्ण अर्थ राख्ने भएकोले आफ्नो पार्टी वैकुण्ठधामको योजनाले सिद्धि पाउनुपर्ने पक्षमा रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष हरिपाल केसी, जनता समाजवादी पार्टीका बाँके अध्यक्ष अरुणकुमार सिंह, नेकपा एसका डम्बर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे र जगदिश ढकाल, राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंह लगायतले पनि महोत्सव सफल बनाउन सघाउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्