बाँके ।
कोहलपुरमा शनिबार भएको बृहत् रक्तदान कार्यक्रमबाट एक सय ५३ युनिट रगत संकलन भएको छ । रगतको अभाव टार्नको लागि कोहलपुरमा शनिबार नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ समन्वय समितिले बृहत् रक्तदानको आयोजना गरेको थियो ।
बृहत् रक्तदान कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालसहित एक सय ५३ जनाले रक्तदान गरेको समन्वय समितिका संयोजक कुस्माखर बस्यालले जानकारी दिए । ‘जिल्लामा केही समययता रगत अभाव भइरहेकोले त्यसको हल गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरेका थियौँ’ उनले मिसन टुडेसँग भने, ‘कार्यक्रम उत्साहजनक रह्यो । एक सय ५३ युनिट रगत संकलन भयो ।’
संयोजक बस्यालका अनुसार रक्तदान कार्यक्रममा कोहलपुर, राप्ती सोनारी र बैजनाथ क्षेत्रका युवाहरूको ठूलो सहभागीता रहेको थियो । रक्तदान गर्ने र कार्यक्रममा उपस्थित जनाउने सबैलाई उनले धन्यवाद व्यक्त गरे ।
रक्तदान कार्यक्रमको नेकपा (एमाले) पोलिटब्यूरो सदस्य महेश बस्नेतले उद्घाटन गरेका थिए । त्यसक्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतलले एमाले क्षेत्र नम्बर १ ले सामाजिक कार्यसँगै मानवीय सेवामा समेत सघाउने कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले रगत अभावकै कारण कुनैपनि मानिसले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा पार्टीका नेता तथा कार्यकर्ताहरू पनि सचेत भएर रक्तदान कार्यक्रममा सहभागी भएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल, एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकाल, एमाले नेता समेत रहेका संविधान सभा सदस्य देवराज भार, जिल्ला सचिव बलराम भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्