लागूऔषध खोज्न कोहलपुरमा तालिमप्राप्त कुकुरको प्रयोग



बाँके ।

चाडबाडका समयमा हुन सक्ने लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि कोहलपुरमा तालिमप्राप्त कुकुरको मद्दतले चेकजाँच गरिएको छ ।

बुधबार लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।

नेपालीहरूका महान् चाडबाड नजिकिएसँगै बसपार्कलगायतका सार्वजनिक स्थलहरूमा मानिसहरूको भीडभाड बढ्न थालेपछि लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरसँगको समन्वयमा तालिमप्राप्त कुकुर कोहलपुरमा मुख्य स्थानहरूमा परिचालन गरिएको डीएसपी भण्डारीले बताए ।

उनका अनुसार कुकुरको प्रयोग गरेर कोहलपुर बसपार्क, महेन्द्र राजमार्ग र सुर्खेत रोडलगायतका मानिसहरूको भीडभाड बढी हुने स्थानहरूमा चेकजाँच गरिएको थियो ।

‘यहाँबाट पहाडी जिल्लामा जाने र पहाडी जिल्लाबाट यहाँ लागूऔषध ओसारपसार हुनसक्ने आँकलन गरेर कुकुरको प्रयोग गरेर सवारी साधनसहित झोलालगायतका सामानहरू चेकजाँच गरेका थियौँ,’ उनले मिसन टुडेसँग भने, ‘त्यस्तो कुनै लागूऔषध भने फेला पर्न सकेन ।’

चाडबाडको अवधिभरि कोहलपुर क्षेत्रमा तालिमप्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच गरिने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । सुरक्षाको दृष्टिकोणले संवेदनशील कोहलपुर क्षेत्रमा चाडबाड हुनसक्ने कानुनविपरीतका गतिविधिहरूलाई नियन्त्रण गर्न प्रहरी चनाखो बनेको छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार