बाँके ।
गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रहरी कार्यालय बाँकेले १० करोड रुपैयाँ बढीको राजस्व दाखिला गरेको छ । भन्सार चोरी पैठारीका सामान, ट्राफिक कारबाही, हुन्डी कारोबारलगायतका शीर्षकमा बाँके प्रहरीले १० करोड रुपैयाँ बढीको राजस्व दाखिला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले गत आवमा प्रहरी कारवाहीबाट १० करोड बढीको राजस्व सम्बन्धित निकायमा दाखिला गरिएको जानकारी दिए । सात वटा शीर्षकमा १० करोड २६ लाख १२ हजार ३ सय ८४ रुपैयाँ राजस्व दाखिला गरिएको उनले बताए ।
एक वर्षको अवधिमा प्रहरीले सबैभन्दा बढी राजस्व अवैध भन्सार चोरी पैठारी शीर्षकमा दाखिला गरेको थियो । यो अवधिमा ४ करोड ५५ लाख चार हजार ६ सय ४३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेर प्रहरीले भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार ट्राफिक कारवाहीबाट दुई करोड ६५ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व उठेको थियो । स्रोत नखुलेको १ करोड ६४ लाख २८ हजार तीन सय रुपैयाँ समेत गत आवमा बरामद भएर राजस्वमा दाखिला भएको एसपी कार्कीले जानकारी दिए ।
अदालतले कैद र जरिवाना तोकेका फरार प्रतिवादी पक्राउबाट समेत १ करोड रुपैयाँ बढी जरिवाना असुल भएको छ । फरार प्रतिवादीबाट १ करोड ९३ हजार ९ सय २६ रुपैयाँ जरिवाना असुल गरिएको एसपी कार्कीले बताए । उक्त रकम समेत राजस्वमा दाखिला गरिएको छ ।
नेपालगन्ज क्षेत्रबाट नियन्त्रणमा लिइएका हुण्डी कारोबारीबाट बरामद भएको २४ लाख ६२ हजार ३ सय १५ रुपैयाँ समेत राजस्वमा दाखिला भएको उनले जानकारी दिए ।
यो अवधिमा बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा ल्याइएका ११ लाख ३६ हजार सात सय रुपैयाँ बराबरका भारतीय बोइलर कुखुरा समेत बरामद गरेको थियो । जिल्लाका विभिन्न खोला तथा नदीबाट नदीजन्य पदार्थ दोहन गर्नेहरूबाट ४ लाख १० हजार रुपैयाँ जरिवाना गरेर राजस्वमा दाखिला गरिएको थियो ।
‘भन्सार चोरी पैठारीमा हामीले धेरै उपलब्धि पाएका छौँ,’ एसपी कार्कीले भने, ‘चालु आवमा समेत कानुनविपरीत हुने क्रियाकलापविरूद्ध बाँके प्रहरी आक्रमक रूपमा लागेको छ ।’
प्रतिक्रिया दिनुहोस्