नेपालगन्ज ।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले बर्दियाको छोटी भन्सार र क्रसर उद्योगहरूको अनुगमन गरेको छ ।
समितिका सभापति अब्दुल खानको नेतृत्वमा रहेको टोलीले गरेको अनुगमनमा छोटी भन्सारहरू सीमाबाट टाढा रहेकाले सीमानजिक सार्नुपर्ने र नयाँ छोटी भन्सारहरू थप्नुपर्ने अवस्था रहेको भेटिएको जनाएको छ ।
सभापति खानका अनुसार भन्सार सीमाबाट चार किलोमिटर जति टाढा रहेकाले भन्सार छली हुने गरेको र स्थानीयहरूलाई आन्तरिक सामान ढुवानीमा पनि सुरक्षाकर्मीले दुःख दिने गरेको पाइएको गुनासो आएको छ ।
यसैगरी जिल्लामा दुईवटा मात्रै छोटी भन्सार रहँदा राजस्व छली भइरहेकाले भन्सारहरू थप्नुपर्ने माग पनि आएको उनले बताए । यता क्रसर उद्योगहरूले मापदण्डको पालना नगरेको पाइएको छ ।
वसायीहरूले मापदण्ड कार्यान्वयनमा आफ्ना समस्याहरू देखाएको बताउँदै सभापति खानले उक्त विषयमाथि छलफल गरेर सरकारलाई सुझाव दिने बताए ।
समितिले बर्दियाको जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला संघसंस्था र निकायका प्रमुखहरूसँग पनि छलफल गरेको जनाएको छ । बाँके र बर्दियाको अनुगमन सकेर संसदीय टोली सुर्खेतको बजार अनुगमन गर्न पुगेको छ । संसदीय टोलीमा प्रतिनिधि सभाका सदस्यहरू अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रेखा यादव र सीता मिजारसमेत सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्