कोहलपुर ।
कोहलपुर नगरपालिका साझा चोकमा रहेको ज्ञान बहुमुखी क्याम्पसले लागूऔषध दुव्र्यसन तथा ट्राफिक नियमसम्बन्धी विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीको प्रमुख अतिथ्यमा अभिमुखीकरण गरिएको हो ।
पछिल्लो समय कोहलपुरमा बढ्दो लागूऔषध दुव्र्यसन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न क्याम्पसले गरेको अभिमुखीकरण प्रभावकारी हुने डीएसपी भण्डारीले बताए । क्याम्पस पढ्ने युवाहरू गलत साथीहरूको संगतले लागूऔषधमा फस्ने गरेको उनले जानकारी दिए ।
खुला सीमा नाकाका कारण लागूऔषध बढ्दो रहे पनि अहिले केही कम हुँदै गएको उनको भनाइ थियो । त्यस्तै, ट्राफिक नियमसम्बन्धी जानकारी नहुँदा र प्रयोग नगर्दा दुर्घटना पनि बढ्दो रहेको उनले बताए । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई उनले कुलतबाट बच्न र देशको निर्माण गर्न आग्रह गरे ।
पछिल्लो समय कोहलपुरमा बढ्दो सवारी दुर्घटना र लागूऔषध दुव्र्यसनी न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण गरिएको क्याम्पस प्रमुख टेकबहादुर गुरुङले जानकारी दिए । करिब १ सय जना विद्यार्थीहरूको सहभागितामा उक्त अभिमुखीकरण सम्पन्न गरिएको उनले बताए ।
युवाहरू विदेशिने र नेपालमा रहेका युवाहरू पनि कुलतमा फस्ने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले यसबाट विद्यार्थीहरूलाई बचाउन र बच्न अभिमुखीकरण गरिएको जानकारी दिए । सो अवसरमा विद्यालयका प्रध्यापक, प्रहरी, ट्राफिक प्रहरीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्