बालज्योतिका विद्यार्थी र सांसद ढकालबीच अन्तक्र्रिया



कोहलपुर ।

हातमा कापी र कमल । विद्यालयको पोशाकमा सजिएका विद्यार्थी । मन र मस्तिष्कमा विधेयक निर्माण तथा विकाससम्बन्धी अनेकौँ प्रश्न । चारैतिर नयाँ अनुहारका अतिथि । त्यसैमा सधैँजसो शिक्षकको साथमा रहने विद्यार्थी मंगलबार भने सांसद सूर्य ढकालसँग करिब दुई घण्ट गफिए ।

कोहलपुर नगरपालिका–११ मा रहेको बालज्योति माध्यमिक विद्यालयले मंगलबार सांसदसँग विद्यार्थी बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सांसद ढकालसँग विधेयक निर्माण तथा विकास सम्बन्धमा विद्यार्थीहरूले अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले सांसद ढकाललाई संविधान भनेको के हो ? भ्रष्टाचार किन भइरहेको छ ? विधेयक कसरी बन्छ ? महिलाको समान सहभागिता खै ? युवालाई स्वदेशमा रोजगारी सिर्जना किन भइरहेको छैन ? अहिले छलफलमा रहेको शिक्षा विधेयकमा निजी विद्यालय र शिक्षकहरूका लागि के कस्तो व्यवस्था रहेका छन् ? लगायतका जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै सांसद ढकालले संविधान नेपालको मूल कानुन भएको र त्यसैको मातहतमा रहेर विकास निर्माणदेखि विभिन्न काम गर्नुपर्ने उनको भनाइ बताएका थिए । त्यस्तै भ्रष्टाचार नियन्त्रण गर्न एक जना मात्र लागेर सम्भव नभएकाले सबै यसका विरुद्ध उत्रिनुपर्ने उनले बताए ।

‘भ्रष्टाचार अन्त्य गर्न एक व्यक्तिले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘प्रत्येक व्यक्तिले आफूबाटै सुरु गर्नु आवश्यक छ ।’ आफ्नो काम र कतव्र्य भुलेर शक्तिको दुरुपयोग गर्दा पछिल्लो समय भ्रष्टाचार बढेको उनको कथन थियो ।

त्यस्तै, उनले अहिले महिला सहभागिता संविधानमा व्यवस्था भएबमोजिम हुनुपर्ने बताए । संविधानमा लेखिएका कुराहरू कार्यान्वयन र श्रमिकको सम्मान गरे मात्रै देशको विकासका साथै वैदेशिक रोजगारी जानेको संख्या घट्ने उनको भनाइ थियो ।

अहिले शिक्षा विधेयक छलफलमा रहेकाले यसलाई गहन अध्ययन गरेर मात्रै पास गरिने उनले बताए । उनले १२ कक्षा पास गर्नासाथ विदेशिने मानसिकता हटाई अब देशमा बसेर केही गर्ने सोच राख्न युवाहरूलाई अभिप्रेरित गर्नुपर्ने धारणा राखे । देशको विकास निर्माणमा युवाको अहम् भूमिका हुने भएकाले युवाले नेपालमा केही गरेर देखाउन लागिपर्नुपर्ने बताए ।

नेपालको संविधान, विधेयकलगायतका विषयमा विद्यार्थीहरूले नीति निर्माण र विधेयक बनाउने सांसदसँगको अन्तक्र्रियाबाट केही सिक्ने अवसर पाएको प्रधानाध्यापक दामोदर पौडेलले बताए । उनले सधैँ शिक्षकले कक्षा कोठामा रटाएर नभई सम्बन्धित व्यक्ति र विषयसँग विद्यालयले छलफल गर्दै आइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार