‘राजनीतिक नेतृत्व सच्चिनु जरुरी छ’



बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवलमा आयोजना गरेको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्व तहमा नै इमानदारिता आवश्यक पर्ने बताएका छन् ।

‘राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने कर्मचारीतन्त्रले पनि साथ दिन्छ,’ उनले भने । कर्मचारीबाट साथ पाइरहेकाले नै भ्रष्टाचार न्यूनीकरणका लागि काम गर्न आफूलाई सहज भएको उनले बताए । ‘मैले जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वमा समस्याहरू छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।’

आफू नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको दाबी गर्दै उनले जिम्मेवारी बोकेर आएपछि पुरा गर्नुपर्ने धारणा राखे । ‘यो मुलुक बनाउन बाहिरबाट कोही आउँदैन,’ उनले भने, ‘जो हामी जिम्मेवारीमा छौँ, उसैले नेतृत्व गरेर राम्रो काम गर्नेतर्फ भूमिका बढाउनुपर्छ ।’

नागरिक तहमा बढ्दै गएको निराशालाई आशामा बदल्ने गरी प्रदेश सरकारले सुधारका काम अघि बढाएको उनले दाबी गरे । ‘सुशासन कायम गर्न मैले आफैँबाट सुरुवात गरेको छु,’ उनले भने, ‘अनावश्यक खर्च कटौती गर्ने कुरामा म प्रतिबद्ध छु ।’ मुख्यमन्त्रीबाट हटेपछि पाउने कुनै पनि सुविधा आफूले नलिने र अरूलाई पनि नदिने गरी निर्णय गरिएको उनले बताए ।

लुम्बिनीमा पूर्व विशिष्ट व्यक्तिहरू लिँदै आएको सेवा सुविधा कटौती गरिएको छ । सो निर्णयपश्चात पूर्वमुख्यमन्त्री र पूर्वसभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथि छलफल गर्दै मुख्यमन्त्री आचार्यले अघि सारेको सुशासन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको प्रस्तावलाई स्वीकृत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार