बाघ–चितुवा खोज्न हात्तीसहितको टोली परिचालन



खजुरा ।

हिंस्रक जङ्गली जनावरको आक्रमणबाट खजुरा गाउँपालिकाको मानखोला जङ्गल आसपासको क्षेत्रमा मानवीय क्षतिका घटना हुन थालेपछि नियन्त्रणमा लिनको लागि हात्तीसहितको टोली परिचालन गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित सुरक्षाकर्मी, प्राविधिक टोली र स्थानीयबासीले बुधबारदेखि नै सो क्षेत्रमा हिंस्रक जनावरको खोजी गरिरहेका छन् ।

खजुरा गाउँपालिका –६ सिमलघारीका वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुनको आइतबार चितुवाको आक्रमणबाट ज्यान गएको थियो । घरबाटै बेपत्ता बालिकाको मंगलबार मात्रै घरनजिकैको जङ्गलबाट आधा खाएको अवस्थामा शव फेला परेको थियो ।

सो घटनापछि बाघ र चितुवालाई नियन्त्रणमा लिनको लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा वन डिभिजनको सहयोग लिइएको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् । उनका अनुसार खोजी कार्यका लागि गाउँपालिकाले समन्वय गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीले खोजीका लागि डिभिजन वन कार्यालय बाँके र बर्दियाको २ वटा खोरसहित प्राविधिक टोली जङ्गली क्षेत्रमा बाघको खोजीका लागि परिचालन भएको छ ।

बाघको खोजीका लागि वन क्षेत्रमा क्यामेरा समेत जडान गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार