सिद्धबाबाका दुई बाइपास सुरुङको ‘बे्रक थु्र’



बुटवल ।

निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजनाअन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थु्र’ भएको छ । सुरुङ परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदै छ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौमा ब्रेक थु्र भएको थियो ।

शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थु्र गरिएको हो । बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ । बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ । जसको अहिलेसम्म ११७ मिटर खनिएको छ ।

सिद्धबाबामा मुख्य सुरुङको लम्बाइ आधा खनिएको छ । पछिल्लो तथ्यांक अनुसार मुख्य टनेल ५ सय ४५ मिटर खनिएको छ । यस आयोजनामा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको थियो ।

आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ । सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सकिएको थियो । सीएससीईसीले इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा सुरुङ मार्गको ठेक्का पाएको छ ।

आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको थियो ।

पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि उक्त क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा छ ।

 

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार