कठरिया थारू समुदायको पितृपाख सुरु



कैलाली ।

कठरिया थारू समुदायको पितृपाख बिहीबारबाट सुरु भएको छ । दिवङ्गत भएका पुर्खाहरूको सम्झनामा १५ दिनसम्म मनाइने कठरिया थारू समुदायको पितृपाख सुरु भएको हो । पितृको शान्ति र सम्झना लागि पितृपाख मनाउने गरिएको कठरिया थारू समुदायका अगुवा सुवेश कठरियाले बताए ।

पितृपाखको पहिलो दिन घर लिपपोत, सरसफाइ गरेर चिटिक्क बनाउने चलन छ । घर सफा बनाइसकेपछि पितृभोगका लागि सन्ध्याकालीन समयमा माछालगायत विभिन्न व्यवञ्जन तयार पार्ने र भोग लगाउने गरिएको छ ।

पितृपाखमा माटोको देउतामा दियो बालेर नुहाउनका लागि देवतालाई गङ्गासागर पठाउने चलन रहेको छ । त्यस क्रममा १५ दिनपछि दसैँसँगै खुशी, सुख, शान्ति लिएर आउनु भनी बिन्ती चढाउने गरिन्छ ।

देवतालाई सात समुद्रपारि गङ्गासागर नुहाउन पठाउँदा परिवारका लागि सुख, शान्ति ल्याउने र पितृलाई पनि शान्ति मिल्ने मान्यता रहिआएको छ । पितृपाख दिवङ्गत भएका आफ्ना पुर्खाहरूको सम्झनामा गरिने महत्वपूर्ण पितृपूजा रहेको कठरियाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार