साताभरि मनसुनी वायु सक्रिय रहने



बाँके ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । महाशाखाले आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको जनाएको हो ।

‘साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।’

महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधार हुँदै जाने बताइन् । कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कन्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदी ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताइन् ।

‘त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्काउने बेला भइसक्यो,’ उनले भनिन्, ‘अहिलेको वर्षाले धान झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ ।’

उनले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँचदेखि सात प्रतिशतसम्म बढ्नसक्ने बताएकी छन् । ‘यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यसकारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,’ उनले भनिन्, ‘तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ ।’

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार