धामपुर नजिकै मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु



बाँके ।

नेपालगन्ज अगैया सडकखण्डको राप्ती सोनारी गाउँपालिका–४ लठ्ठापुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बुधबार अपराह्न भएको सवारी दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) भद्रसिङ ओलीले जानकारी दिए ।

उनका अनुसार धामपुरबाट बैजापुरतर्फ गइरहेको भे१२प ३१९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको भे१२प ४८२८ मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा परेर दुबै मोटरसाइकल चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा भे१२प ३१९५ नम्बरको मोटरसाइकल चालक राप्ती सोनारी– ४ का ३७ वर्षीय रामशरण थारू , सोही मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका घर भई बैजापुरमा बस्दै आएका ३८ वर्षीय अजय थारू र भे१२प ४८२८ नम्बरको मोटरसाइकल चालक वडा नम्बर ३ खैरेनीका १९ वर्षीय वसन्त थारू रहेका छन् ।

प्रहरीका अनुसार बसन्तले चलाएको मोटरसाइकलमा तीन जना सवार थिए । गम्भीर घाइतेहरूमा वसन्तको मोटरसाइकलमा सवार खैरेनीका १९ वर्षीय संगीत थारू र खैरेनीकै १६ वर्षीय सन्जय थारूको अवस्था मध्यम रहेको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

नेरामावि धामपुरका शिक्षक रहेका मृतक रामशरण विद्यालय बिदापछि मोटरसाइकलमा घर फर्किंदै थिए । उनले चलाएको मोटरसाइकलाई अर्को दिशाबाट तीव्र गतिमा आएको तीन जना सवार मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार