नेपालगन्जमा संविधान दिवसका अवसरमा रात्रिदौड



नेपालगन्ज ।

नेपालगन्ज म्याराथनको प्रि–इभेन्टका रूपमा संविधान दिवसको अवसरमा असोज ३ गते नेपालगन्जमा १० किमी रात्रिदौड आयोजना गरिने भएको छ ।

नेपालगन्ज म्याराथन दशौँ संस्करणलाई विषेश बनाउन आयोजक संस्था क्रियटिभ ह्यान्ड्सले ‘दशैँमा दश इभेन्ट’का रूपमा १० वटा कार्यक्रम गर्ने योजनामुताबिक पहिलो कार्यक्रमको रूपमा रात्रिदौड आयोजना गर्न लागिएको म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए । असोज ३ गते राति ८ बजे नेपालगन्जको बिपीचोकबाट दौड सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

रात्रिदौडको आयोजनाले सुखद सन्देश दिनुका साथै नेपालगन्जको शान्ति सुरक्षाको प्रत्याभूतिको महसुस गराउने ठकुरीले बताए । दौडमा सबैले संवतः स्फुर्तरूपमा सहभागिता जनाउन सक्ने ठकुरीले बताए । यसलाई आयोजकले देशमै पहिलोपटक हुन लागेको कार्यक्रम भएको दाबी गरेको छ ।

यसैगरी, दौडको महत्व बुझाउन र दौड संस्कृति विकास गर्ने उदेश्यले असोज ५ गते शनिबारबाट सुरु भई वर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिइएको छ ।

दौडबारे स्कुल कलेजमा लेक्चर सिरिज, गौघाट ग्रिन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेब, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको दशौँ संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले जानकारी दिए ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथन यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद आयोजना हुन लागेकाले मंसिर २२ गते शनिबार हुन लागेको पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार