बाँके ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले सदस्यहरूमा रोल्पाको परिवर्तन गाउँपालिका–६ निवासी डा. सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रूपन्देहीको बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
आयोगका उपाध्यक्ष अर्यालले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए । उनसँगै आयोगका सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री आचार्यले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य वली, चौधरी र ढकाललाई शपथग्रहण गराएका हुन् ।
यस्तै, बैठकले दाङको शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ ।
गाउँपालिकाको १५औँ गाउँसभाको दुईतिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो । यस्तै, गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्