गण्डकीको प्रेस रजिष्टारमा भण्डारी



पोखरा ।

गण्डकी प्रदेशको पहिलो प्रेस रजिष्टारमा पत्रकार बिमला भण्डारी नियुक्त भएकी छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार भण्डारीलाई प्रेस रजिष्टारको शपथ खुवाएका थिए । शपथग्रहणपश्चात उनले सोमबार नै कार्यभार सम्हालेकी थिइन् ।

गण्डकी सरकारले प्रेस रजिष्टार नियुक्त गर्न आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । समितिले लिखित प्रस्तावना र अन्तर्वार्ताको माध्यमबाट मन्त्रिपरिषदलाई ३ जनाको नाम सिफारिस गरेको थियो ।

प्रेस रजिष्टार छनोट समितिले गरेको सिफारिसका आधारमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिष्टार नियुक्त गर्ने निर्णय गरेको हो । प्रेस रजिष्टारका लागि भण्डारीसहित भरत कोइराला, भानु पराजुली, सरिता तिम्सिना र दुर्गा अधिकारीले प्रस्तावना पेस गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष रहेकी भण्डारी न्यूनतम पारिश्रमिक निर्धारण समितिकी पूर्व सदस्य हुन् ।

पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामा लागेकी उनी महिलाहरूले मात्र सञ्चालन गरेको रेडियो जननीकी संस्थापक स्टेसन म्यानेजर पनि हुन् । प्रदेश सभाले गत वर्ष नै ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ पारित गरेको थियो ।

सोही ऐनमा प्रदेशमा प्रेस रजिष्टार नियुक्तिको व्यवस्था छ । ऐनमा प्रेस रजिष्टारले प्रदेशका आमसञ्चार माध्यमको नियमन गर्ने, सञ्चार माध्यमको दर्ता, नवीकरण, सञ्चार मन्त्रालयमा सञ्चार माध्यमको वार्षिक विकास कार्ययोजना पेस गर्ने, सञ्चार माध्यमको वर्गीकरण, सञ्चार माध्यमलाई सुविधाका लागि सिफारिस गर्नेलगायतका काम, कर्तव्य र अधिकार तोकिएको छ ।

कार्यभार सम्हालेपछि रजिष्टार भण्डारीले श्रमजिवी पत्रकारको हकहित संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आचारसंहिता पालनामा जोड दिने बताइन् ।

‘ऐनअनुसार हामीले सबैभन्दा पहिला नियमावली ल्याउनु छ,’ उनले भनिन्, ‘वार्षिक कार्ययोजना बनाएर श्रमजिवी पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार आचारसंहिताको क्षेत्रमा काम गर्छु ।’

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार