नाकामा सरकारको खेलाँची : एमपक्स नजाँची भारतबाट भित्रिँदै नेपाली



यतिबेला चाडबाड नजिकिएकाले भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या अन्य समयको तुलनामा बढी हुने गरेको छ । तर नाकाहरूमा यसबारे चेकजाँचको तयारी नहुँदा भोलि नेपालमा यो समस्या नबल्झिएला भन्न सक्ने अवस्था छैन । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे अहिले नै एमपक्सलाई लिएर नाकामा चेकजाँच गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

ज्वरो आउने, मांसपेशीमा दुखाइ हुने, सुन्निने, टाउको दुख्ने, जाडो महसुस हुने, थकाइ लाग्ने र दादुराको जस्तै शरीरमा फोका देखिने लक्षण भएको एमपक्स भारतसम्म पुगिसकेको छ । भारतको हरियाणामा विदेशबाट फर्किएका एक २६ वर्षीय पुरुषमा एमपक्स सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरूमा खबर छ ।

एमपक्स अफ्रिका हुँदै विश्वभर फैलिएपछि यसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उच्च अलर्टमा राखेको छ । यो अन्य मुलकबाट आउने मानिसहरूसँगै भित्रन सक्ने भएकाले सीमानाकामा विशेष सतर्कता अपनाउनु आवश्यक छ । तर, पश्चिम नेपालको एक व्यस्त नाका बाँकेको जमुनाहस्थित हेल्थ डेस्कले यो समाचार तयार पार्दासम्म मङ्की पक्सका लागि भनेर कुनै सतर्कता अपनाएको छैन ।

हेल्थ डेस्कका इन्चार्ज हेमन्त राना अहिलेसम्म आफूहरूलाई एमपक्सलाई ध्यानमा राखेर गर्नुपर्ने कामहरूबारे कुनै निर्देशन नआएको बताउँछन् । ‘हामीले पाएको मङ्की पक्ससँग सम्बन्धित एक जनचेतनामूलक भिडियो मात्रै हो । बाँकी यसरी चेकजाँच गर्नुहोस्, यस्तो प्रक्रिया अपनाउनुस भन्ने निर्देशन आएको छैन,’ उनले भने ।

हाल हेल्थ डेस्कले मलेरियाको सङ्क्रमण भित्रिन नदिनका लागि भने नियमित परीक्षण गरिरहेको र त्यसका लागि पनि साधन स्रोतहरू कमी भइरहेको उनले बताए । उक्त हेल्थ डेस्कले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेशस्थित स्वास्थ्य निर्देशनालय मातहत रहेर काम गर्छ ।

यतिबेला चाडबाड नजिकिएकाले भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या अन्य समयको तुलनामा बढी हुने गरेको छ । तर नाकाहरूमा यसबारे चेकजाँचको तयारी नहुँदा भोलि नेपालमा यो समस्या नबल्झिएला भन्न सक्ने अवस्था छैन ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे अहिले नै एमपक्सलाई लिएर नाकामा चेकजाँच गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । सम्भावित जोखिमलाई ध्यानमा राखेर यसबारेमा जनचेतना फैलाउने, हवाई मार्गबाट आउने यात्रुहरूलाई सामान्य खालको सोधपुछ गर्ने काम भने भइरहेको उनले बताए ।

हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूलाई यसबारेमा सचेतनामूलक सामग्रीहरू दिएर सतर्क अवस्थामा रहन भने भनिएको उनले बताए । ‘अहिले नै यसलाई लिएर आत्तिइहाल्नुपर्ने अवस्था छैन । यद्यपि हामीले छालारोग विशेषज्ञज्यूहरूलाई भने यसबारेमा समन्वयमा बस्न भनेका छौँ । त्यसका लागि उहाँहरू तयार अवस्थामा हुनुहुन्छ,’ घिमिरेले भने ।

कन्सल्टेन्ट छालारोग विशेषज्ञ डा. बद्री चापागार्इंलाई एमपक्सको उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा फोकल पर्सन तोकिएको छ । डा. चापागाईंका अनुसार एमपक्सका शंकास्पद बिरामीबाट परीक्षणका लागि पिसिआर र बायोप्सी गर्न नमुना सङ्कलन गर्ने किटहरू उपलब्ध भएका छन् । तर ती नमुनाको परीक्षण भेरी अस्पतालमा गर्न मिल्ने साधन छैनन् । त्यसका लागि अस्पतालले नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा पठाउने व्यवस्था गरिएको डा. चापागाईंले जानकारी दिए । जसको खर्च सबै सरकारले नै व्यहोर्ने व्यवस्था गरिएको उनले बताए ।

परीक्षणको व्यवस्था स्थानीयस्तरमै हुुनुपर्ने सवालमा डा. चापागार्इं भन्छन्, ‘अहिले त बिरामी नै भेटिएका छैनन् । भोलि गएर बिरामीहरू धेरै भेटिने अवस्था भयो भने कोभिडको जस्तै परीक्षणको सुविधा पनि यहीँ गर्न समस्या होला जस्तो मलाई लाग्दैन ।’ डा. चापागाईंले एमपक्स रोकथामका लागि सरकारले गरेको पूर्वतयारी सन्तोषजनक नै रहेको बताए । यसका साथै बिरामीहरूको सम्भव हुने उपचारका लागि पनि आफूहरू तयार रहेको उनले बताए ।

डा. चापागाईंका अनुसार एमपक्स भाइरसका कारण लाग्ने रोग भएकाले यसको निश्चित उपचार र औषधी छैन । देखिएका लक्षणका आधारमा उपयुक्त औषधीको प्रयोग गरेर उपचार गरिन्छ । भाइरसका कारण लाग्ने रोगहरू निश्चित समयपछि आफैँ सन्चो भएर जाने पनि उनले बताए ।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूले आँखाले देखिने लक्षण रहेका आगन्तुकहरू फेला पारेमा नजिकको सरकारी अस्पतालमा थप जाँचका लागि पठाउने गरी तयारी गरिएको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयहरूले जनाएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदकुमार गिरीले एमपक्स भित्रिन नदिनका लागि नाकामा रहेका हेल्थ डेस्कले मात्रै सतर्कता अपनाएर नहुने भन्दै सर्वसाधारण र सुरक्षा निकायबाट पनि उत्तिकै सतर्कता जरुरी रहको बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सङ्क्रामक रोग नियन्त्रणको काम हेर्ने फोकल पर्सन भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार सुदूरपश्चिममा रहेका पाँचवटै नाकामा रहेका हेल्थ डेस्कहरू पनि सतर्क अवस्थामा रहेका छन् । उनले डेस्कका स्वास्थ्यकर्मीलाई अनलाइनबाट अभिमुखीकरण गराइएको पनि बताए ।

एमपक्सबारे जान्नुपर्ने कुरा ? 

मुसा, बाँदर, लोखर्केजस्ता जनावरबाट मानिसमा सरेको मानिने यो रोग मानिसबाट मानिसमा भने श्वासप्रश्वास्, सङ्क्रमित छालाको सम्पर्कले र गर्भवती आमादेखि बच्चामा सर्छ । यद्यपि यो रोग कोभिड जस्तो श्वासप्रश्वासबाट छिटो फैलिँदैन ।

यसको भ्याक्सिन पनि बनिसकेको छ भने मृत्युदर पनि कम छ । यसको सङ्क्रमण भएको २१ दिनसम्म पनि लक्षण नदेखिन सक्छ । लक्षण देखिन थाल्दा सुरुमा ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी, काखीहरूमा गिर्खा आउने हुन्छ । त्यसपछि पहिला मुखबाट सुरु भएर बिस्तारै शरीरभरि, हत्केला र पैताला, गोप्य अङग, मुखभित्र र आँखाभित्र बिमिराहरू देखिन थाल्छन् ।

पहिला रातो रातो र घमौरा जस्तो उठेको देखिने बिमिराहरू बिस्तारै पानीको फोकाजस्तै अनि पीप भरिएको जस्तो भएर अन्तिममा फुटेर पाप्राहरू बस्ने गर्दछन् ।

झट्ट हेर्दा यो ठेउला वा बिफर जस्तो देखिन सक्छ । धेरै जसो लक्षणबाट मात्रै पनि यो रोग पत्ता लगाउन सकिने भए पनि यकिन गर्न छालाको जाँच वा फोकाको पानीको पीसीआर गर्नुपर्ने हुन्छ ।

शङ्कास्पद लक्षण देखिनासाथ छालारोग विशेषज्ञकहाँ गइहाल्न चिकित्सकहरूको सुझाव छ ।

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार