आज मोहम्मद डे



बाँके ।

नेपालसहित विश्वभरका मुस्लिम धर्मालम्बीहरूले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९९औँ जन्मोत्सव आज मनाउँदै छन् । ‘मोहम्मद डे’ पनि भनिने यस दिन मुस्लिम धर्मालम्बीहरूले ¥याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन रहिआएको छ ।

आज नेपालगन्जमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, पैगम्बर मोहम्मदको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्नेजस्ता क्रियाकलाप गर्ने मुस्लिम धर्म गुरु एवम् मदरसा परिषद्का पूर्वउपाध्यक्ष मौलाना मन्सुर आरफीले बताए ।

मोहम्मद डेको अवसरमा नेपालगन्ज बजारलाई झिलिमिली बनाइएको छ । मौलाना आरफीले संविधानको दायरामा रहेर सबै धर्मावलम्बीले आ–आफ्नो धार्मिक स्वतन्त्रताको प्रयोग गर्न पाउने भन्दै धर्म र सामाजिक सद्भावविरोधी क्रियाकलापमा नलाग्न आग्रहसमेत गरे ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

बाँकेलगायतका जिल्लामा बसोबास गर्ने मुस्लिमहरूले हजरत मोहम्मदको जन्मदिनको अवसरमा पारेर आज बृहत् ¥यालीको आयोजनासमेत गरेका छन् । बाँकेको नरैनापुर, नेपालगन्ज, जानकी, डुडुवालगायतका स्थानमा ¥याली निकालेर मोहम्मद डे धुमधामका साथ मनाइँदै छ ।

पर्वलाई ध्यानमा राखेर बाँकेको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । नेपालगन्जसहितका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्नेगरी व्यवस्थापन मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका चार पालिकामा सार्वजनिक बिदा 

मोहम्मद डेको अवसरमा आज बाँकेका चार पालिकाले सार्वजनिक बिदा दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, जानकी र नरैनापुर गाउँपालिकाले मोहम्मद डेको अवसरमा आज सार्वजनिक बिदा दिएका हुन् ।

चारवटै पालिकाले आइतबार मात्रै एक सूचना जारी गरेर पालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्थाहरू, स्वास्थ्य संस्थाहरूबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका कार्यालयहरूलाई सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

विगतका वर्षहरूमा समेत यी पालिकाहरूले मोहम्मद डेको अवसरमा सार्वजनिक बिदा दिने गरेका थिए ।

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार