असोज पहिलो सातादेखि अग्रिम टिकट बुकिङ



काठमाडौँ ।

सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले जानकारी दिए ।

‘सामान्यतया १५ दिन अगाडि खुल्ने प्रचलन हो,’ उनले भने, ‘कहिलेदेखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको छ । असोजको पहिलो हप्तादेखि खुलाउने गरी तयारी भएको छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए । ‘अहिले सडक त्यति राम्रो छैन,’ रिजालले भने, ‘सडक मर्मतका लागि हामीले मातहतका निकायलाई घच्कच्याइरहेका छौँ । अहिले कतिपय ठाउँमा सडक मर्मत गर्ने कार्य भइरहेको छ ।’

यसैबीच कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट बुकिङ खुला गरिसकेका छन् । तर यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्ने रिजालले यसबारे आवश्यक समन्वय गरिरहेको बताए ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार