जिल्ला सद्भाव समिति बाँकेको बुधबार बैठकले गेटहरू निर्माण गर्दा बिरामी बोकेका एम्बुलेन्स, पानीका सवारी साधन, सुरक्षासँग सम्बन्धित सवारी साधन र दमकलजस्ता अत्यावश्यक सवारी साधनहरू सहजै प्रवेश गर्न मिल्नेगरी निर्माण गर्ने र त्यस्ता गेटहरू कार्यक्रम समापन भएपश्चात निर्माण गर्ने पक्षले बढीमा ३ दिनभित्र व्यवस्थापन गरिसक्नुपर्ने निर्णय गरेको छ ।
नेपालगन्ज ।
जिल्ला सद्भाव समिति बाँकेले इस्लाम धर्मावलम्बीहरूको पर्व मोहम्मद डेको पूर्वसन्ध्याको अवसर पारी जिल्लामा धार्मिक उत्सवहरूमा गेट बनाउँदा निश्चित मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको बैठकले गेटहरू निर्माण गर्दा बिरामी बोकेका एम्बुलेन्स, पानीका सवारी साधन, सुरक्षासँग सम्बन्धित सवारी साधन र दमकलजस्ता अत्यावश्यक सवारी साधनहरू सहजै प्रवेश गर्न मिल्नेगरी निर्माण गर्ने निर्णय गरेको हो । यसका साथै त्यस्ता गेटहरू कार्यक्रम समापन भएपश्चात निर्माण गर्ने पक्षले बढीमा ३ दिनभित्र व्यवस्थापन गरिसक्नुपर्ने निर्णय पनि समितिले गरेको छ ।
यसअघि भदौ २० गते जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहहरूलाई धार्मिक चाडपर्वहरूसँग सम्बन्धित गेटहरू निर्माणको कारण निर्माण स्थल र जिल्लाभरि नकारात्मक प्रभाव तथा धार्मिक द्वन्द्वसमेत निम्तने सक्ने देखिएको भन्दै स्थानीय तहहरूको सिफारिसमा प्रशासनबाट अनुमति लिएर मात्रै त्यस्ता गेटहरू लगाउन दिने व्यवस्था गर्न भन्दै पत्र लेखेको थियो ।
उक्त व्यहोरा खुलाएर अन्तरकार्यालय सञ्चार प्रयोजनका लागि लेखेको उक्त पत्र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि पत्रमा उल्लिखित ‘धार्मिक द्वन्द्वसमेत निम्तने सक्ने’ शब्दावलीको विरोध भएको थियो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासनको अनुमति लिएर गेट निर्माण गर्नुपर्ने यसअघिको निर्णय कायमै रहेको बताउँछन् ।
अहिले त्यस्ता गेटहरू बनाउँदा पालन गर्नुपर्ने मापदण्डको सम्बन्धमा सद्भाव समितिले निर्णय गरेको र उक्त निर्णयका आधारमा जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने उनले बताए । हाल प्रमुख जिल्ला अधिकारी जिल्लाबाहिर रहेकाले उनी आएपछि सुरक्षा समितिको बैठक बस्ने माझीले बताए ।
यसैगरी सद्भाव समितिले मोहम्मद डेलाई भ्रातृत्वपूर्ण र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सक्रियतापूर्वक लाग्ने, सद्भाव बिथोल्ने खालका सामग्री सम्प्रेष्ण नगर्न प्रशासनले अपिल जारी गर्ने, त्यस्ता सामग्री सम्प्रेषण गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने र सद्भाव समितिले यसमा सघाउने निर्णय पनि गरेको छ ।
साथै मोहम्मद डेको ¥याली जाने रुट पनि समितिले तय गरेको छ । भदौ ३० र ३१ गते मोहम्मद डे मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्