बाँके ।
किर्ते मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका लुम्बिनी प्रदेशका कांग्रेसका सांसद धनबहादुर केसी (डीबी) कैद सजाय रकममा परिणत गरी २४ घन्टामै छुटेका छन् । सोमबार रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले सांसद केसीलाई १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुविधासहितको आदेश दिएको थियो ।
अदालतले तोकेको रकम बुझाएपछि सांसद केसी सोमबार एक दिनमै छुटेको अदालतका श्रेस्तेदार ईश्वरी सुबेदीले जानकारी दिए । फौजदारीसंहिताको दफा १५५ मा एक वर्षजति सजाय भएका व्यक्तिलाई रकम तिरेर छुट पाउने सुविधा दिएको छ । सोही सुविधा प्रयोग गरेर उनी छुटेका हुन् ।
उनी गएको चुनावमा रुकुम पूर्व जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए । राजनीतिमा आउनुभन्दा पहिले सांसद केसी म्यानपावर व्यवसायी थिए । सांसद केसीले आइतबार अदालतमा आत्मसर्मपण गरेका थिए ।
आइतबार नै अदालतले तोकिएको सजाय भुक्तानी गर्न कारागार चलान गर्न आदेश दिए पनि उनी कारागार भने चलान भएका थिएनन् । आइतबार राति सांसद केसी रुकुम पश्चिम कारागारका जेलरको कार्यालय रहेको कोठामा कार्यकर्तासहित बसेका थिए ।
सोमबार दिउँसो अदालत पुगेका उनलाई अदालतले एक दिन कारागारमा बिताएको भन्दै ३ सय ६३ दिनको दैनिक ३ सयका दरले रकम बुझाएर छाडेको थियो ।
अदालतले तोकेको रकम बुझाएर मुक्त भएसँगै सांसद केसी हेलिकोप्टर चार्टर गरी सोमबार नै काठमाडौँतिर उडेका थिए ।
केसीविरूद्ध २०४८ साल असार ९ गते किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा केसीले र्किर्ते गरेको अभियोग प्रमाणित भएपछि अदालतले दोषी फैसला गरेको थियो ।
त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्