नेपालमा मनसुन अवधि बाँकी रहँदै ९० प्रतिशत वर्षा



काठमाडौँ ।

नेपालमा मनसुन अवधि एक महिना बाँकी हुँदा नै औषतको झन्डै ९० प्रतिशत वर्षा भएको छ । झन्डै चार महिना रहने मनसुन अवधिको औषत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो ।

तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ । नेपालबाट मनसुन बाहिरिने औषत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ ।

मनसुन अवधि एक महिना बाँकी नै रहेकोले यसअघि नै अनुमान गरेअनुसार यस वर्ष औषतभन्दा धेरै वर्षा हुने सम्भावना बलियो रहेको विभागकी बरिष्ठ मौसमविद् विभूती पोख्रेलले बताइन् । उनका अनुसार अबका केही दिन बदली र सामान्यदेखि मध्ययम खालको वर्षाको सम्भावना रहे पनि लामो झरी पार्ने खालको प्रणाली छैन ।

यस वर्ष मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपद्बाट दुई सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार